×

वीरगञ्ज, ६ जेठ । ‘प्रभु हस्प्टिल’ नाम नसुन्ने शायदै होलान् । पर्साबासी र वीरगञ्जबासीका लागि ‘प्रभु’ नाम नौलो होइन । कहिलै बिरामीको उपचारमा लापरवाही गरेर ज्यान लिने र कहिलै बिरामीसँग उपचारको नाममा लाखौँ ठग्ने गरेको आरोप प्रभुको लागि पनि नौलो होइन । पटकपटक यस्ता आरोपहरु झेलिरहेको प्रभु हस्पिटल अहिले फेरी चौतर्फी आलोचित बनेको छ ।

सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ९ निवासी ६५ वर्षीय उर्मिला देवीको परिवारसँग अस्पतालले उपचारमा लाग्ने स्वभाविक शूल्कभन्दा ८ गुणाबढी शूल्क लिएको बिल पनि सामाजि सञ्जालमा भाइरल छ । 

यो पनि पढ्नुहोस : प्रभु हस्प्टिलका सञ्चालकको पोल खुल्यो, महामारीमा बिरामीसँग लाखौ ठग्दै

कोरोनासँग मिल्दोजुल्दो लक्षणसहित बैशाख २७ गते अस्पताल भर्ना भएकी उर्मिला देवीको परिवारसँग प्रभु अस्पतालले ८ दिनमा उपचारवापत २ लाख १ हजार ४ सय ५० रुपैयाँ र औषधीवापत थप ५० हजार रुपैया गरी अढाई लाख रुपैयाँ असुलेको छ । 

अस्पतालले बढी शूल्क लिएको खबरले चर्चा पाएपछि कोभिड एक्सन टिमले बुधवार अस्पतालमा अनुगमन समेत गरेको छ । अनुगमनको क्रममा अस्पतालका सञ्चालक तथा चिकित्सकहरु भेट्न नमानी फरार भएको र अस्पताल प्रशासनले आवश्यक कागजात देखाउन नमानेको हुँदा कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा परिपत्र गर्ने क्याटले जनाएको छ । 

यो पनि पढ्नुहोस :प्रभु हस्पिटलमा क्याटद्वारा अनुगमन, डाक्टर भेट्न मानेन्, कार्कीको जवाफ चित्त बुझेन

महामारीको समयमा बिरामीलई अँझ सहुलियत दिएर उपचार गर्नुपर्नेमा अत्यधिक शूल्क असुल्ने र बिरामीलाई ठग्ने अस्पताललाई कारवाही गर्नुपर्ने सर्वत्र माग उठेको छ । राजनीतिक दल, नागरिक अभियानता, बुद्धिजिवि लगायतले गरिबमाथी अत्याचार गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । 

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादव पनि कारवाही गर्नुपर्ने पक्षमा छन् । ‘विषम परिस्थितीमा मानिसहरु घरजग्गा बेचेर भएपनि ज्यान बचाउन आउँछन्, तर त्यस्तो बेलामा सेवाभन्दा पनि व्यापार गर्ने उद्देश्यले खुलेको प्रभु हस्पिटलले मौकामा चौका हान्दै लुट धन्दा शुरु गर्ने कार्य कदापी सह्य हुँदैन, यादवले भने । उनले अस्पतालका सञ्चालकलाई तत्काल कारवाही गर्नुपर्ने प्रशासनसँग पनि आग्रह गरेका छन् । 

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले मानवियताको समयमा दानवीय व्यवहार नगर्नुपर्ने धारणा राखेका छन् । महामारीमा मानवता देखाउनुपर्नेमा उल्टै उपचार गर्न आएकाहरुलाई ठग्नु अनुचित कार्य भएको मेयर सरावगीको भनाई छ । डिसीसीएमसीको टोलीले अनुगमन गरेर प्रभु हस्पिटलका सञ्चालकलाई कारवाहीका लागि सिफारिस गरेपछि थप प्रक्रिया अघि बढ्ने उनले बताए । 

नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदीको पनि दुई मत छैन । कोरोना कहरले आक्रान्त भएको अवस्थामा गरिब जनतालाई ठग्ने प्रभु अस्पतालका सञ्चालकलाई  कारवाही हुनुपर्ने उनको माग छ । उनले भने, ‘महामारीमा मानवियता पनि हुन्छ । अन्य बेला त कमाइरहेका छन् । अब महामारीका कारण प्रभावित भएका विपन्न नागरिकलाई अस्वभाविक मूल्यमा बिल बनाएर रकम असुल गर्नु अव्यावहारिक हो ।’  

नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजाराले पनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठक बसेर प्रभु हस्पिटलसहित अन्य अस्पतालहरुमा पनि अनुगमन गरी नागरिकलाई ठगेको प्रमाणित भएमा कडा कारवाही गर्न निर्देशन दिएको बताए । 

जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष रामनरेश यादवले महामारीमा माफियबाजी गर्ने र गरिब जनताहरुलाई स्वास्थ्यको नाममा ठगी गर्ने जोकोहीलाई पनि कारवाही गर्नुपर्ने बताए । यात्राडेलीसँग कुराकानी गर्दै यादवले भने, ‘खुलेयाम लुटीरहेका छन्, ४ दिनको बिल अढाई लाख बनाइरहेका छन् । मेरै एकजना भाइको उचार गर्दा अस्पतालले २ लाख ८८ हजार बिल बनाए । यसरी गरिबमाथी अत्याचार गर्नेहरुलाई कारवाही गर्न आवश्यक छ ।’ ‘महामारीको फाइदा उठाउँदै जनतालाई ठग्नेहरुको नियत ठीक देखिएन,’ यादवको भनाई छ । 

माओवादी केन्द्र पर्साका अध्यक्ष बिजय महतोले महामारीको समयमा गलत फाइदा उठाउन ठीक नभएको बताए । ‘पूरा विश्व नै प्रभावित भएको अवस्थामा गरिब जनतालाई उपचारको नाममा लाखौ असुल्नेहरुलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ । यसमा कुनै दुई मत छैन,’ महतोले भने । 

अस्पताललाई मन्दिर र चिकित्सकलाई भगवानको संज्ञा दिने हाम्रै समाज हो । तर यही समाजमा यस्ता निर्दयी अस्पताल र कथित चिकित्सक पनि छन् । अब बाँच्दिन भन्ने अवस्थामा पुगेका बिरामीहरुलाई बचाएर पुर्न जन्मदिने अस्पतालहरु पनि छन् । तर बाँच्ने आशा बोकेर भएको सम्पती सबै बेचेर उपचार गराउन आएकामाथी अँझै ऋणको भारी बोकाउने र पिडा थप्ने अस्पताल पनि छन् । प्रभु हस्पिटलका सञ्चालकद्वय डा. मनोज कुमार गुप्ता र डा. लक्ष्मी थापा गुप्तालाई आम जनमानसले त्यस्तै पिडा बोकाउने अस्पतालको नजरियाले हेर्न थालेका छन् ।

उपचारको नाममा ठगी गर्ने प्रभु हस्पिटलका सञ्चालकलाई अब कारवाही होला त ?

Back to top