×

फाइल तस्विर ।

वीरगञ्ज ५ जेठ । पर्सामा कोरोना भाइरसका संक्रमितको संख्या घटेसँगै मृतकको संख्या पनि मंगलवार ओरालो लागेको छ । 

सोमवार पर्साका २ सय ८८ जनाको परीक्षण गर्दा जम्मा ५८ जनामा संक्रमण पुष्ठि भएको थियो । त्यस्तै मंगलबारपनि २ सय ८८ जनाको कोरोना परिक्षण ७७ जनामा सङ्क्रमित भेटिएका छन् । 

यसअघि वीरगञ्जका अस्पतालहरुमा दैनिक औसतमा १० जना संक्रमितको मृत्यु हुने गरेकोमा मंगलवार जम्मा ४ जनाको मृत्यु भएको छ । 

मंगलवार ज्यान गुमाउने ४ जनामध्ये २ जना बारा र १/१ जना पर्सा आर रौतहटका रहेका छन् । 

वीरगञ्जस्थित स्पर्श मल्टी स्पेश्यालिटी हस्पिटलमा उपचाररत ६५ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । बैशाख २५ गते कोरोना पुष्टि भएका उनलाई स्वास्थ्यमा थप समस्या आएपछि २८ गते अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबार उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

त्यस्तै नारायणी अस्पतालमा उपचाररत बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी ४१ वर्षीय पुरुषको मंगलवार बिहान १ बजेर १० मिनेटमा मृत्यु भएको हो । बैशाख २० गते संक्रमण पुष्टि भएका पुरुष सोही दिन अस्पतालमा भर्ना भएका थिए । 

त्यसैगरी रौतहटको बहुअर्वा नगरपालिका वडा नम्बर १ निवासी ६० वर्षीय बृद्धको पनि आज मृत्यु भएको छ । बैशाख २८ गते कोभिड १९ संक्रमण पुष्टि भएर सोही दिन भर्ना भएका पुरुषको मंगलवार बिहान १ बजेर ३५ मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । 

यता भवानी हस्पिटलमा पनि एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बारा जिल्लाको कोहल्वी गाउँपालिका वडा नम्बर ११ निवासी ५२ वर्षीय महिलाको पनि आज मृत्यु भएको हो । बैशाख ७ गते संक्रमण पुष्टि भएर सोही दिन हस्पिटलमा भर्ना भएकी महिलाको मंगलबार बिहान ७ बजेर २० मिनेटमा मृत्यु भएको थियो । 

यसैविच सोमवार राति साढे ११ बजे वीरगञ्जका १ पुरुषको मृत्यु भएको छ । बैशाख २६ गते संक्रमण पुष्टि भएर सोही दिन वीरगञ्ज हेल्थ केयरमा भर्ना भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बस्ने ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत बिनय कुमार श्रीवास्तवले जानकारी दिए ।

Back to top