×

वीरगञ्ज, ४ जेठ । बाराको कलैया उपमहानगरपालिकामा दुईजना बालकहरुको हत्या गरेको आरोपमा बारा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

मंगलबार बिहान घाँटी रेटिएको अवस्थामा शव बरामद गरिएको कलैया वडा नम्बर ७ का ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको हत्याको आरोपमा बारा प्रहरीले एक २८ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

दाजुभाइको हत्या प्रकरणमा संलग्न भएको आरोपमा युवकलाई पक्राउ गरिएपनि अनुसन्धान चलिरहेको कारण उसको पहिचान खुलाउँन नमिलेको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) गौतम मिश्रले जनाकारी दिए ।

‘स्थानीय एकजनालाई बालकहरुको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरेका छौँ,’ मिश्रले भने, ‘उनलाई प्रहरी हिरासतमा राखेर घटनाको समबन्धमा थप अनुसन्धान गरिरहेका छौँ । अनुसन्धान जारी रहेकोले उसको पहिचान खुलाउँन मिल्दैन ।’

सोमबार साँझ खेल्न निस्केका बालाकहरु अवेर रातिसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । रातभरी खोज्दापनि प्रहरीले बालकहरुलाई भेटाउन सकेको थिएन । 

आज बिहान सोही वडास्थित निर्माणधीन सल्फिया कञ्जुल उलुम मदरसामा उनीहरु शव बाख्रा चराउन गएका स्थानीय केहि बालकहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

बालकहरुको निर्मम तरिकाले धारिलो हतियारबाट घाँटी रेटी हत्या गरिएको अवस्थामा उनीहरुको शव बरामद गरिएको डिएसपी मिश्रले बताए । 

शव फेला परेपछि महोत्तरीको बर्दिबासबाट आएको तालिम प्राप्त कुकुरसहितको प्रहरी निरीक्षक दीपेन्द्र शाहीसहितको टोलीले घटनास्थलमा गएर अनुसन्धान गरेको थियो ।

बालक समान्य परिवारको रहेकाले धन सम्पतिभन्दा पनि व्यक्तिगत रिसइबीका कारण उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । बालकहरुका पिता रोजगारको सिलसिलामा विदेशमा छन् ।

मृतक दुबै बालकको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको मिश्रले बताए ।

Back to top