×

वीरगञ्ज, ४ जेठ ।  प्रदेश २ सरकारले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा अक्सीजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।

प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको मंगलवार सम्पन्न बैठकले प्रदेशभित्र रहेका अक्सिजन प्लान्टहरुबाट बाहिर ग्यास पठाएको हुँदा प्रदेशमा अक्सिजन ग्यासको अभाव देखिएकोले उक्त समस्या समाधान गर्न मन्त्री यादवको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरु रहने गरि समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिले प्रदेशभित्रका अक्सिजन उद्योगहरुबाट दैनिक उत्पादन हुने संख्या र वितरण प्रणालीको अनुमन गर्ने छन् ।

त्यसैगरी बैठकले कोरोना संक्रमितहरुको उपचार भइरहेका प्रदेशभित्रका सरकारी तथा नीजि अस्पतालहरुको अनुगमनका लागी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा विज्ञ समूह गठन गरेको छ । आवश्यकता अनुसार निजी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारको व्यवस्था मिलाउनका लागी आइएमओ गर्न प्रदेश सरकारमा सिफारिस गर्ने क्षेत्राधिकार सो समूहलाई दिइएको छ । 

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न पिसीसीएमसीको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल शाह, नेपाली सेनाका सहायक रथी शिशिर चन्द्र केसी, नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिंह, सशस्त्र प्रहरीका डिआजी चन्द्र प्रकाश गौतम, अनुसन्धान निर्देशक  हरिहर पौडेल लगायतको उपस्थिति रहेको थियो ।
 

Back to top