×

वीरगञ्ज, ४ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ । 

उनको कोरोनाभाइरस सङ्क्रमणबाट निधन भएको परिवार स्रोतले जनाएको छ । 

कोरोना सङ्क्रमित भई काठमाडौँस्थित मेडीसिटी अस्पतालमा उपचाररत उनको मंगलबार बिहान मृत्यु भएको हो । 

सङ्क्रमणका कारण उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पताल भर्ना गरिएको थियो । 

बारा जिल्लाको पचरौटा नगरपालिकाका पिपरपाती गाउँका निवासी सिंह नेपाली कांग्रेसको राजनीति छाडेर २०६४ सालमा उनी महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए ।

तमलोपाबाट उनले २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । उनले दुवै चुनावमा पराजय व्यहोरेका थिए ।

तमलोपामा उनी केन्द्रीय महासचिव थिए । उनको निधनले पार्टीलाई अपुरणीय क्षति भएको र एउटा असल मित्र गुमाएको बाराका प्रदेश सांसद तथा २ नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताए ।

उनको मृत्युबाट बारा क्षेत्रले एउटा महत्वपूर्ण राजनीतिज्ञ गुमाएको मन्त्री जितेन्द्र सोनलले भनाई छ ।

वन विज्ञान अध्ययन संस्थान हेटौंडामा विद्यार्थी हुँदा २०४४ देखि २०४६ सालसम्म उनी स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका थिए ।

Back to top