×

वीरगञ्ज, ४ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने सहमति भएको छ । बरु दुई नेताबीच आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको छ । 

पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क वितर्क एवम् अड्कलबाजी भइरहेको बेला दुई नेताबीच भएको छलफलबाट पार्टी तत्काल सरकारमा सहभागी नहुने सहमति बनाएको विज्ञप्तीमा  उल्लेख छ । दुई अध्यक्षद्वारा जारी विज्ञप्तिमा पार्टी प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने जनाइएको छ । 

तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा नेतृत्व लिन पछि नहट्ने दुई नेताबीच सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको र विश्वासको मत सम्बन्धी प्रस्तावलाई फेल गराएर जसपा नेपालकै नेतृत्वमा बहुमतको सरकार बनाउन अघि सर्नुपर्ने अध्यक्ष यादवको प्रस्तावमा ठाकुर सहमत बनेको बताइएको छ । 

जसपा नेपालको नेतृत्वमा सरकार बनाउन पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले पहल गर्ने प्रस्ताव पनि अध्यक्ष यादवको थियो । तर, यी प्रस्तावप्रति अध्यक्ष ठाकुर सन्तुष्ट नरहेको स्रोतले जनाएको छ । माओवादी केन्द्र र काँग्रेस कुनै पनि हालतमा जसपा नेपालको नेतृत्वलाई स्वीकार नगर्ने ठाकुरको भनाई छ । 

यस्तै संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको विषयमा पनि छलफल गर्न सकिने ठाकुरको भनाइ रहेको छ । दुई अध्यक्षको विज्ञप्तिमा पार्टीमा उत्पन्न भएका समस्याहरुलाई आफू संगठित रहेको पार्टीभित्र छलफल गरी पार्टी विधान अन्तरगत रहेर समाधन गरिनुपर्नेमा पनि जोड दिइएको छ ।

यस्तै पार्टीभित्र कसैले पनि व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि गुटबन्दी गर्ने, पार्टी नेताहरुविरुद्ध भ्रम फैलाउनेजस्ता कार्य अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउने विषयमा पनि दुई नेताबीच सहमति भएको छ ।

Back to top