×

फाइल तस्बिर

वीरगञ्ज, ४ जेठ । पर्साको बहुदरमाई नगरपालिकाले वीरगञ्जस्थित साह दरबार होटलमा निर्माण गरेको कोभिड आइसोलेशन सेन्टरमा अनियमितता भएको पाइएको छ ।

नगरपालिकाका मेयर नितेन्द्र साह आफै सञ्चालक रहेको उक्त होटलमा कोभिड–१९ सङ्क्रमितहरुको उपचारका लागि भनेर निर्माण गरिएको आइसोलेशन सेन्टरमा आर्थिक चलखेल भएको आरोप लागेको हो ।

मेयर साहले नगरपालिकाबाट झन्डै ७ किलोमिटर टाढा रहेको होटलमा निषेधाज्ञाको समयमा आफ्नो लगानी निकाल्न जर्वजस्ती आइसोलेशन सेन्टर बनाएको स्थानीयको आरोप छ । 
उनले नाम मात्रको आइसोलेशन सेन्टर बनाएको जसपाका केन्द्रीय सदस्य शिव पटेलले आरोप लगाए । नेता पटेलका अनुसार गाउँमा सङ्क्रमितहरु छटपटाइरहेको बेला मेयर साहले नगरपालिकाबाट पैसा कुम्ल्याउन शहरमा आइसोलेशन सेन्टर निर्माण गरेका हुन् ।

नगरपालिकाले बनाएको आइसोलेशन सेन्टरमा अहिले सङ्क्रमित नरहेपनि कागजमा दैनिक लाखौँ रुपैयाँ खर्च भइरहेको नेता पटेलको दावी छ । ‘गाउँबाट ७–८ किलोमिटर टाढा बनाइएको आइसोलेशन सेन्टरमा को जान्छ ?, नेता  पटेलले प्रश्न गरे, गाउँघरका मान्छेको सेवा सुविधाका लागि गाउँमा आइसोलेशन सेन्टर बनाउनुपर्नेमा पैसा कुम्ल्याउन मेयर नितेन्द्र साहले जर्वजस्ती शहरमा आइसोलेशन बनाएका छन् । सङ्क्रमित नभएपनि दैनिक लाखौँको खर्च देखाएर जनप्रतिनिधि र कर्मचारीहरुको रजाई भइरहेको छ ।’

नेता पटेलले गतवर्ष नगरपालिकामा निर्माण गरिएको आइसोलेशन सेन्टरको सामाग्री हुँदाहुँदै कमिसनको चक्करमा नगरपालिकाले फेरी त्यही सामाग्री खरिद गरेको आरोप लगाए । गत वर्षपनि नगरपालिकाले आइसोलेशन निर्माणको नाममा लाखौँको रकम खर्च गरेको पटेलको भनाई छ । 

उनले गाउँमा रहेका स्वास्थ्य केन्द्रहरुमा औषधी आभाव भइरहेको बेला शहरमा आइसोलेशन निर्माण गर्नु मुर्खता भएको बताए । ‘गाउँको स्वास्थ्य केन्द्रमा सिटामोल नभएको गुनासो आउँदै छ अनि शहरमा लाखौँ खर्च गरेर आइसोलेशन सेन्टर निर्माणको ढोंग हुँदैछ,’ पटेलले भने ।

यता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विदुर उप्रेतीले आइसोलेशन सेन्टरमा ३ जना सङ्क्रमितहरुको उपचार भइरहेको बताए । आइसोलेशन सेन्टर ३–४ दिन पहिला सुरु भएको कारण धेरै सङ्क्रमितहरु नभएको दावी गरे । 

उप्रेतीले आइसोलेशन सेन्टरमा अक्सिजन लगायत आवश्यक औषधीको निःशुल्क व्यवस्थापन गरिएको जानकारी दिए । उनले सङ्क्रमितहरुको उपचारका लागि दुईजान एमबिबिएस डाक्टर र १ जना सहयोग गरी ३ जना स्वास्थ्यकर्मी खटाइएको बताए ।

आइसोलेशन सेन्टर निर्माणमा लागेको खर्च बारे जानकारी माग्दा उनले अहिले त्यसको हिसाबकिताब नभएको भनेर पन्छिन खोजे । नगरपमुख नितेन्द्र साहसँग सम्पर्क गर्दा उनले भने, ‘अहिले व्यस्त छु पछि कल गर्नुहोला ।’ पछि पूनः सम्पर्क गर्दा उनले फोन काटे । 
 

Back to top