×

वीरगञ्ज, ४ जेठ । कोभिड १९ एक्सन टिम (क्याट) पर्साले बुधवारदेखि वीरगञ्जमा अक्सिजन उत्पादन हुने अक्सिजन उद्योगहरुको अनुगमन गर्ने भएको छ । कोरोना संक्रमितको उपचार भइरहेको वीरगञ्जका अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछि क्याटले अनुगमन गर्ने र मागअनुसारको आपूर्तिको व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको क्याटका सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिब तबरेज अहमदले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा क्याटका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका संयोजक नेकमहमद अन्सारीको अध्यक्षतामा बसेको बैठकले अनुगमन तथा व्यवस्थापनमा सक्रिय भएर वीगञ्जलाई कोरोना भाइरस संक्रमणमुक्त बनाउने निर्णय गरेको छ ।

कोरोना संक्रमितको उपचार भइरहेको वीरगञ्जस्थित नारायणी अस्पताल, नेशनल मेडिकल कलेजको स्वामित्वमा रहेको अस्थाई कोभिड अस्पताल लगायतको अनुगमन र नागरिकको गुनासोलाई समेटेर तयार पारिएको सुझाव पत्र प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई बुझाइएको अहमदले यात्राडेलीलाई बताए । 

नेपाली काङ्ग्रेस पर्साका सचिब श्याम पटेल, नेकपा एमालेका  सञ्जिव मिश्र, माओवादी केन्द्रका बाबुराम कौशिकसहितको सहभागितामा बसेको बैठकले अस्पतालहरुको व्यवस्थापनमा सुधार गर्नुका साथै अक्सिजनको अभावलाई परिपूर्ति गर्नुपर्ने निस्कर्ष निकालेको छ । मुख्यतयाः निजि अस्पतालहरुले संक्रमितलाई नै अक्सिजन र औषधीको व्यवस्था गर्न लगाउने हुँदा त्यसो नगरी अस्पतालले नै व्यवस्थापन गर्न निर्देशन दिने पनि निर्णय गरेको छ ।

बैठकको क्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले कोभिड १९ को महामारीमा क्याटले गरेका कार्यहरुको सह्राना गर्दै एकअर्कासँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने विश्वास व्यक्त गरे । क्याट र सरकार दुवैको उद्देश्य एउटै भएकाले जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहि अनुगमन गर्ने र सो क्रममा देखिएका समस्याहरुको समाधान पनि मिलेर गर्नुपर्नेमा प्रजिअ घिमिरेले जोड दिए । 

Back to top