×

वीरगञ्ज ४ जेठ । इजरायली हवाई आक्रमणमा ध्वस्त भएको घरभित्र पुरिएकी गाजाकी छ वर्षीया बालिकाको सात घन्टापछि सकुशल उद्धार गरिएको छ।

सुजी एस्कुन्ताना नामकी ती बालिकालाई अहिले गाजाको सबैभन्दा ठूलो अस्पतालमा भर्ना गरिएको छ।

गत आइतबार इजरायलले गरेको हवाई आक्रमणमा उनको घर ढल्दा उनकी आमा र चार जना भाइबहिनी बितेका छन्।

सात घन्टासम्म भग्नावशेषमा पुरिएकी सुजीलाई उद्धारकर्ताहरूले निकालेर सिफा अस्पताल पुर्‍याएका थिए। सोही अस्पतालमा उनका घाइते बुवा रियाद एस्कुन्तानाको पनि उपचार भइरहेको छ।

'मलाई माफ गर, मेरी छोरी। तिमी बाबा आउनु भन्दै रोइरहेकी थियौ तर म आउनै सकिनँ,’ छेउकै अर्को बेडमा आइपुगेकी छोरीका हात चुम्दै रियादले भने।  

गाजा सहरमा रहेको उनीहरूको घर आइतबार बिहानै इजरायलले हानेको रकेटले ध्वस्त बनाएको थियो। आइतबारमात्रै इजरायलले गरेको आक्रमणमा परी ४२ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

इजरायलले गाजालाई नियन्त्रणमा लिएको विद्रोही सैन्य समूह हमाससँगै इस्लामिक जिहादलगायत अन्य समूहलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको छ। ती समूहले अहिलेसम्म २ हजार ८ सय रकेट हानिसकेको उसको दाबी छ। गाजाबाट आएका रकेटबाट अहिलेसम्म १० जना इजरायलीको मृत्यु भएको छ।  रकेट आक्रमणबाट जोगिन लाखौं मानिसहरूलाई सुरक्षित स्थानमा पठाइएको छ।

'यो हताहतीको कारण हमासले आपराधिक तरिकाले हामीमाथि गरिरहेको आक्रमण हो,’ इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले भनेका छन्।  

गाजाका विद्रोही सैन्य समूहको टनेल सिस्टमलाई लक्षित गरी गरिएको आक्रमणमा एस्कुन्तानाको घर पनि परेको थियो।

दर्जनौं उद्धारकर्ता, प्रहरी अधिकारी र आफन्तले उनको परिवारको खोजी गरेका थिए।

अस्पतालमा पुगेका आफन्तहरू सुजीका अरू भाइबहिनीको मृत्युको खबरले मर्माहत भएका देखिन्थे।

सुजीलाई सामान्य चोट लागे पनि उनको अवस्था गम्भीर छैन। उनको एक्स-रे गरेपछि डाक्टरहरूले उनलाई बुवासँगैको बेडमा ल्याएर राखिदिएका हुन्।

रियादले आफूहरू बस्ने घरमा  डाक्टरहरू पनि बस्ने भएकाले परिवार सुरक्षित रहेको ठानेको बताएका छन्। उनीहरूले बच्चाहरूलाई सुरक्षित कोठामा राखेका थिए।

'अचानक आगोको मुस्लोजस्तो रकेट आयो र पर्खाल भत्कियो,’ रियादले समाचार संस्था रोयटर्ससँग भनेका छन्,‘हामी छोराछोरी हेर्न जाँदै थियौं। अर्को रकेट आएर बिस्फोट भयो।

बिस्फोटका बेला उनले छोराछोरीले 'बाबा, बाबा' भनेको सुनेका थिए।

'म आफैं फसेको थिएँ। उनीहरूलाई हेर्न सकिनँ,’ उनले भने।

सुरूमा उद्धारकर्ता आउँदा रियादले आफू जिउँदै छु भन्ने जानकारी दिन सकेनन्। आधा घन्टापछि आएका अरू उद्धारकर्तालाई मात्र उनले जनाउ दिन सके।  

निधारमा पट्टी बाँधेर अस्पतालको बेडमा पल्टिएका रियादले सुरूमा त आफूले पनि मर्न चाहेको बताए।

'दुनियाँमा भएको सबै रिसले म भरिएको थिएँ। तर जब मेरा छोरीहरूमध्ये एक जना बाँचेकी छ भन्ने सुनें  भगवानलाई धन्यवाद दिएँ। यो छोरीले थोरै भए पनि मेरा अरू छोरीहरूको थोरै भए पनि मुस्कान दिनेछ किनकी यो उनीहरूकी बहिनी हो,' रियादले भने।

Back to top