×

डा. निरज सिँह :

कोभिड–१९ को दोस्रो लहर सँगसँगै म्युकोर्मिकोसिस रोगको जोखिम पनि बढ्दै गएको छ । कोभिडको दोस्रो लहरमा संक्रमित हुने विरामीहरुमा म्युकोर्मिकोसिस रोगको लक्षण देखिन थालेको छ ।म्युकोर्मिकोसिस कोभिड संक्रमितलाई लाग्न सक्ने एउटा गम्भीर रोग हो । म्युकोर्मिकोसिस हुँदा एकापट्टीको मुख सुन्निने र आँखा सुन्निने, नाकबाट रगत आउँने, आखा वरिपरीको भागमा कालो डाम बस्ने समस्या देखिने गरेको छ ।

म्युकोर्मिकोसिस एउटा कालो ढूसी (ब्ल्याक फङ्गस) को संक्रमणले गर्दा देखिने रोग हो । मधुमेह (डाईबीटिज) र कोभिड संक्रमितहरुको उपचारको क्रममा प्रयोग हुने एस्ट्रोइड औषधीले गर्दा रगतमा चिनीको मात्रा बढ्ने समूहमा यो रोग बढी देखा पर्ने गरेको छ । 

विज्ञहरूका अनुसार कालो ढूसी सङ्क्रमण हावामा अवस्थित म्युकोर्मिसेट्स भनिने मोल्डहरूको समूहले गर्दा हुन्छ र विरामीले श्वास फेर्दा जुन साइनसको गुहा, फोक्सो र छातीका प्वालहरूमा फैलिन्छ । यद्यपि, केही विज्ञ एस्ट्रोइड उच्च निर्भरता (कोभिड सङ्क्रमितहरुको , विश्वास गर्छन् कि स्टेरोइडमा उच्च निर्भरता (कोभिड केस हरूमा हुने सूजनको उपचार गर्दा प्रयोग गरिने औषधी), पहिलादेखि मधुमेह रोग पीडितलाई म्युकोर्मोकोसिसको जोखिममा बढी हुने गरेको विश्वास गर्छन् ।

छिमेकी राष्ट्र भारतमा पछिल्लो समय म्युकोर्मिकोसिसका धेरै संक्रमित भेटिएका छन् भने वीरगञ्जमा कोभिडको दोस्रो लहर चलेदेखि अहिलेसम्म ४ जना संक्रमित भेटिएको तथ्यांक छ । दोस्रो चरणको कोभिड सङ्क्रमणमा यो समस्या बढी देखिएको वैज्ञानिक मान्यता छ ।

यस भाइरस र फङ्गल इन्फेक्सनको सम्बन्धमा अहिलेपनि वैज्ञानिकहरु निकै उत्सुकताका साथ अध्ययन तथा अनुसन्धानमा लागेका छन् । यस फङ्गल इन्फेक्सनबाट संक्रमित पिडितहरुमा सामान्यतयाः नाक भरिएको र नाक बग्ने लक्षणहरु हुन्छ । त्यसैगरी नाक वरिपरी छालामा कालो प्याचहरु देखिन सक्छ । म्युकोर्मिकोसिस लागेपनि यसलाई सामान्य रोग बुझेर धेरै सङ्क्रमित उपचार खोज्दै ढिलो आउने गरेको हामीले पाएका छौँ ।

ढिलो उपचार हुँदा संक्रमितहरुले दृष्टि गुमाउने र मस्तिष्कमा समेत सङ्क्रमण फैलीने जोखिम रहन्छ । मस्तिष्कमा संक्रमणलाई फैलीनबाट रोक्नका लागि चिकित्सकहरुले शल्यक्रिया गरेर आँखा समेत हटाउनु पर्ने हुन्छ ।

अर्कोतर्फ यस रोगको उपचारमा प्रयोग हुने औषधी लिप्सोमाल एम्फोटेरिसिन वि इन्जेक्सन पनि सहजै उपलब्ध हुँदैन । औसधी सहजै उपलब्ध नहुँदा निकट भविष्यमा हामीले एउटा ठूलो चुनौती सामना गर्नुपर्ने देखिन्छ । तसर्थ सम्बन्धित निकाय र सरोकारवालाहरुको यसतर्फ ध्यान केन्द्रित हुन आवश्यक छ ।

(लेखक नारायणी अस्पतालमा कार्यरत बरिस्ठ चिकित्सक हुन् ।)

Back to top