×

वीरगञ्ज, २ जेठ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पर्सा जिल्लामा जारी निषेधाज्ञा उपलब्धीमुलक हुन नसकेको विज्ञको ठहर छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले चेन ब्रेक गर्ने अभिप्रायले बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञाको आइतवार अठारौँ दिन बित्दा पनि संक्रमितको संख्यामा कमी आएको छैन । संक्रमितको संख्या ओरालो लाग्नुको सट्टा उल्टै उकालो लाग्ने क्रम रोकिएको छैन । पर्सा जिल्लामा दैनिक औसत ९४ जनामा कोरोना संक्रमण पुष्ठि भइरहेको तथ्यांकले देखाउँछ । 

वीरगञ्जका चिकित्सकहरुको धारणा 

निषेधाज्ञा संक्रमणको चेन ब्रेक गर्ने उपयुक्त उपाय भएपनि पूर्व तयारीमा जिल्ला प्रशासन कार्यालय चुकेको नेशनल मेडिकल कलेजका निर्देशक प्राध्यापक डा. प्रमोद कुमार सर्राफ बताउँछन् । निषेधाज्ञाको मोडालिटी परिवर्तन र त्यसले पार्ने प्रभावको बारेमा पूर्वानुमान लगाएर सोही अनुसारको व्यवस्थापन गर्नुपर्नेमा हचुवाको भरमा निषेधाज्ञा जारी गरिएको सर्राफको बुझाई छ । दोस्रो लहरको कोरोना भाइरस भित्रिनेमा सबै विश्वस्त हुँदा पनि स्थानीय, प्रदेश तथा संघिय सरकारको उदासिनताका कारण कोभिड विशेष अस्पताल स्थापना नहुनु दुःखद विषय भएको सर्राफले बताए । यात्राडेलीसँगको संवादमा डा. सर्राफका अनुसार जेनरल सेवा र कोभिड संक्रमितको उपचार एकैठाउँबाट हुँदा अस्पतालबाटै संक्रमण फैलिरहेको छ । सीमानाकामा कडाई नहुनु, निषेधाज्ञा शहरकेन्द्रित हुनुले पनि कोभिड १९ को संक्रमणलाई बढावा दिएको उनको भनाई छ ।

वीरगञ्जको पानीट्यांकीस्थित प्रभु हस्पिटलका सञ्चालक डा. मनोज कुमार गुप्ताको धारणा पनि फरक छैन । नेपालमा पनि छिमेकी राष्ट्र चिनले लगाएजस्तै लकडाउन लगाउनुपर्नेमा डा. गुप्ताले जोड दिए । यात्राडेलीसँग कुराकानी गर्दै गुप्ताले भने, ‘लकडाउन भन्दा पनि स्लो डाउन भएको छ । यस्तै अवस्था हो भने चेन ब्रेक हुने सम्भावना देखिँदैन । अँझै भयावह हुन सक्छ ।’ संक्रमण तिव्र गतिमा फैलिएपनि नागरिकले लापरवाही गर्न भने नछोडेको गुप्ताको बुझाई छ । अँझै पनि मानिसहरु खुल्ला रुपमा हिँडिरहेका छन् । कोही बिना मास्क हिँडिरहेका छन् भने कसैले मास्क गलत तरिकाले लगाइरहेको जेनरल फिजिसियन डा. गुप्ताको भनाई छ । सबैजना घरमै बस्नुपर्ने र अतिआवश्यक सामाग्रीको व्यवस्था स्थानीय सरकारले घरघरमै पु¥याउने व्यवस्था गर्नुपर्ने उनको धारणा छ । उनि भन्छन्, ‘कम्तिमा ३ महिनासम्म पुर्ण रुपमा लकडाउन गरेर परीक्षणलाई तिव्रता दिएमात्र चेन ब्रेक हुन सक्छ ।’ सरकारी संयन्त्रको असक्षमता उर्जागर भएको बताउँदै पसलबाट अतिआवश्यक सामाग्रीको खरिदबिक्रि पनि अव्यवस्थित र असुरक्षित तवरले भइरहेको इंकित गरे । पसलवालाले व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई), मास्क, गलब्स लगाउनुका साथै पसलमा स्यानिटाइज गर्नुपर्नेमा स्वास्थ्य सावधानी नअपनाएर प्रहरीको आँखा छल्ने र संक्रमणलाई व्यापकता दिने काम भइरहेको गुप्ताको तर्क छ । 

स्त्री प्रजनन् तथा प्रसुती रोग विशेषज्ञ डा. जगत दीप पनि चिकित्सकद्वय सर्राफ र गुप्ताको तर्कमा सहमत छन् । पछिल्लो अवस्था हेर्दा संक्रमीतको उपचार गर्न अस्पताल नै संक्रमण फैलाउने केन्द्र बनेका छन् । निषेधाज्ञाका कारण केही हदसम्म संक्रमण कम भएको स्विकार गर्दै डा. जगत थप्छन्, ‘पूर्ण रुपमा निषेधाज्ञा प्रभावकारी रुपमा कार्यन्वयन गर्न सके चेन ब्रेक हुन सक्थ्यो ।’ वीरगञ्ज ओम हस्पिटलका प्रबन्ध निर्देशकसमेत रहेका डा. दीपले अस्पतालमा संक्रमितहरुको चाप धेरै हुँदा पनि व्यवस्थापनमा समस्या भएको बताए । संक्रमितका कुरुवा र संक्रमितहरु प्रत्यक्षमा सम्पर्कमा हुँदा त्यसले समुदायमा संक्रमण फैलिने जोखिम बढेको उनको भनाई छ ।  

वीरगञ्जको बहुअरी सञ्चालित स्पर्श मल्टी स्पेशियलिटी हस्पिटलका निर्देशक डा. महेश्वर कुर्मीको पनि दुईमत छैन । वीरगञ्जमा पर्याप्त मात्रामा अक्सिजन, भेन्टिलेटर तथा आइसियु लगायतका स्वास्थ्य उपकरणहरुको अभावकै कारण दिनप्रतिदित मृत्यु हुनेको संख्या बढीरहेको कुर्मीको बुझाई छ । ग्रामिण क्षेत्रमा पनि निषेधाज्ञाको प्रभावकारी कार्यन्वयन गराउनुपर्ने र हरेक नागरिकलाई खोपको पहुँचमा पु¥याउन सके संक्रमणको चेन ब्रेक हुने कुर्मीले बताए । 

जिल्लामा निषेधाज्ञा जारी भएदेखि १ हजार ७ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । निषेधाज्ञा लागेदेखि जिल्लामा दैनिक औसत ९४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।


’निषेधाज्ञा शहर केन्द्रित भयो, ग्रामिण भेगमा निषेधाज्ञाको कुनै प्रभाव छैन । त्यहाँ भिडभाड लाग्नेदेखि  सयौंको उपस्थितिमा विवाह र भोजका कार्यक्रम हुँदैछन् । यसरी रहे सङ्क्रमणको चेन ब्रेक गर्न सकिंदैन,’ विज्ञको भनाई छ । 

हुनपनि जिल्लामा जारी निषेधाज्ञा शहर केन्द्रित मात्र छ । वीरगञ्ज बाहिर निषेधाज्ञाको प्रभाव देखिन सकेको छैन । जबकी गाउँगाउँमा उच्च ज्वरो, रुघाखोकी जस्ता स्वास्थ्य समस्या भएका विरामीहरु टन्नै छैन । यहाँको जगरनाथपुर गाउँपालिकास्थित चिलझ्प्टि गाउँमा लगभग प्रत्येक घरमा एकजना उच्च ज्वरो र टाईफाईडका विरामी छन् ।
 

Back to top