×

विवेक कर्ण, वीरगञ्ज, २ जेठ । 

‘कुछ हप्ता पहिला तक खेतभर लाललाल टमाटर रहे, अभि देखि सारा खेते में जियान होरहल बा ।’ लटरम्म फलेका गोलभेडा कुहिएर काम नलाग्ने भएपछिको पिडा मात्र छैन कृषक बिरेन्द्र साहसँग । हरिया आकर्षक देखिने करेला पनि अहिले सबै कुहिएर रातै देखिएका छन् । 

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५चिलझपटी निवासी साह एक कृषि प्रधान देशका कृषक हुन् । कृषक हुनुमा गर्व गर्ने साहलाई अहिले कृषक हुनुमा पश्चाताप छ । साह भन्छन्, ‘चिलझपटी से आईल तरकारी सुनते लोग छुवे के तक नइखे मानत, ना केहु बेचे देता, खेद देता लोग ।’ कारण हो कोरोना भाइरस । घरैपिच्छे ज्वरो तथा रुघाखोकी जस्ता कोरोना भाइरसको लक्ष्ण देखापरेपछि चिलझपटीलाई सिल गरिएको छ । त्यसकै प्रत्यक्ष मारमा परेका छन् चिलझपटीका बासीन्दा । 

गाउँ नै सिल गरेको खबरपश्चात छिमेकी गाउँका बासीन्दाले गर्ने व्यावहार पनि फेरिएको छ । हिँजोसम्म त्यही गाउँ आफ्नो, त्यही गाउँका बासीन्दा आफन्त अनि त्यही गाउँको तरकारी मीठो लाग्नेहरुलाई अहिले चिलझपटी पराई, त्याहाँका बासीन्दा शत्रु अनि त्याहाँको तरकारी कोरोना भाइरसको संक्रमण फैलाउने माध्यम हो जस्तो लाग्छ । तरकारी बेच्ने व्यवसायीहरुले पहिले त्यँहीबाट खरिद गरेर ल्याउने गरेका थिए ।

गाउँ नै सिल भएपछि तरकारी खरिद गर्न पनि कोही नआउँदा आयस्रोत ठप्प हुने अवस्थाको सृजना भयो । चिलझपटीका स्थानीय कृषक साह भिखमपुर बजारमा तरकारी बेच्न जाँदा तितो अनुभव भोग्नुप-यो । घरमा बालबच्चा अनि परिवारको पेट पाल्ने एकमात्र माध्यम तरकारी व्यवसाय थियो । श्रम र पसिना बगाएर फलाएको तरकारी खरिद गर्न कोही नआएपछि बाध्य भएर तरकारी बेच्न हिँडे । तर भिखमपुरका स्थानीयले चिलझपटी गाउँबाट आएको खबर पाउनेबित्तिकै बजारबाटै लखेटेर घाउमा मलम लगाउनुको साटो उल्टै नुन चुक छर्किए । बजार जान्छु र तरकारी बेचेर कमाएको पैँसाले खानेकुरा किनेर ल्याउँछु भन्ने सपना बोकेर बजार गएका साहलाई भिखमपुरका नागरिकको अमानविय व्यावहारले पहिलै पिडामा रहेका साहमाथी झन कति पिडा थप्यो होला ?

साहको जस्तै वेदना अर्का कृषक लालबाबु धानुकसँग पनि छ । करिब ५ कठ्ठा क्षेत्रफलको जग्गामा लगाइएको करेला खेती अहिले नष्ट हुने अवस्थामा पुगेको छ । केहिदिनदेखिको ज्वरोले सताएपछि धानुकले निको हुने आशमा गाउँपालिकाले वितण गरेको औषधी सेवन गरीरहेका छन् । 

सो टोलमा २५ जनाको पिसीआर प्रविधि र ११ जनाको एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । २२ जनालाई होमआइसोलेसनमा राखेर नियमित अनुगमन तथा औषधी वितरणको कार्य भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक प्रभेन्द्र प्रसाद साहले बताए । होम आइसोलेसनमा बसेकाहरुको स्वास्थ्यमा गम्भिर समस्या देखिएमा जगरनाथपुर गाउँपालिकाले वीरगञ्जमा व्यवस्थापन गरेको २५ बेडको कोभिड अस्थाई आइसोलेसनमा पठाइने साहको भनाई छ । 

लगभग १ सय ५० भन्दा धेरै घरधुरी रहेको चिलझपटीमा सिल गरिएको आइतवार ६ दिन भएको छ । त्याहाँ हरेक घरमा लक्ष्ण देखिएको हुँदा सिल गरिएपनि स्वास्थ्य परिक्षण र अनुगमनका साथै औषधी वितरणको काम भइरहेको गाउँपालिकाकी उपाध्यक्ष बिशमिला खातुनले बताईन । 

Back to top