×

वीरगञ्ज, २ जेठ । वीरगञ्जमा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाहरुले आजदेखि नगद (क्यास) कारोबार नगर्ने बताएका छन् ।

बढ्दो कोरोनाभाइरस सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि यहाँ सञ्चालित दुई दर्जनभन्दा पनि बढी बैङ्क तथा वित्तीय संस्थाहरुले क्यास कारोबार नगर्ने जनाएका हुन् ।

यहाँ सञ्चालित बैंकहरुको छाता सङ्गठन वीरगञ्ज बैङ्क्रस ग्रुपले बिहिबार एउटा सूचना जारी गर्दै आजदेखि शुक्रबारसम्म एक हप्ताका लागि क्यास कारोबार नगर्ने जनाएका थिए ।

बैङ्कका कर्मचारीसमेत सङ्क्रमित हुनथालेपछि सेवाग्राहि र कर्मचारीको सुरक्षालागि पनि क्यास कारोबारलाई बन्द गर्ने निर्णय गरिएको नबिल बैङ्क श्रीपुर शाखाका प्रबन्धक सन्तोष साहले जानकारी दिए ।

यद्दपी उनले यस अवधिमा चेक क्लियारिङ, आरटीजीएस, आईपीएस, एलसी र भन्सार सम्बन्धि जस्ता महत्वपूर्ण कामहरु नरोकिने बताए । 'क्यास कारोबारलाई निरुत्साहित गर्नपनि हामीले यस्तो गरेका हौँ । क्यास कारोबारमा सेवाग्राही र कर्मचारीको सिधा सम्पर्क हुँदा सङ्क्रमण फैलने जोखिम हुन्छ । त्यसैले एक हप्ता भएपनि यसलाई रोक्दै छौँ,' साहले भने ।

साहले सेवाग्राहीलाई विद्युतीय कारोबारलाई प्राथमिकता दिन आग्रह गरेका छन् । ई-बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायत प्रयोग गरेर क्यास कारोबारको विकल्पका रुपमा प्रयोग गर्न सकिने उनले बताए ।

Back to top