×

वीरगञ्ज २ जेठ । धनगढी एफसीलाई पराजित गर्दै काठमाडौंँ रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको च्याम्पियन बनेको छ । धनगढीलाई १–० गोल अन्तरले हराउँदै काठमाडौंँ एनएसएलको पहिलो उपाधि चुम्न सफल भएको हो ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंँका लागि विदेशी मेसौके ओलोमोउले निर्णायक गोल गरेका हुन् । उनले खेलको २१औं मिनेटमा सो गोल गरेका थिए । ओलोमोउ नै लिगमा कुल आठ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत बने । उपाधिसँगै काठमाडौंले रु ३५ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता धनगढीले रु १५ लाख प्राप्त गरेको छ ।


खेलको २९औं मिनेटमा ओलोमोउको फ्रिकिक प्रहार गोलपोष्ट नजीकैबाट बाहिरिएको थियो । खेलको ३०औं मिनेटमा छिरिङ गुरुङले अवसर पाए पनि गोल गर्नबाट चुके । पहिलो हाफको इन्जुरी समयमा पनि काठमाडौंका ओलोमोउले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन ।

मध्यान्तरपछि खेलको ५५ औंँ मिनेटमा धनगढीका अशोक खवासको प्रहारलाई काठमाडौंका गोलकिपर विकेश कुथुले जोगाए। खेलको ६५ औंँ मिनेटमा काठमाडौँका स्टेफेन बिनोङले हानेको बललाई धनगढीका गोलकिपर किरण चेम्जोङले गोल हुनबाट रोके ।

यस्तै, खेलको ७५ औंँ मिनेटमा काठमाडौंँका ओलोमोउको लामो प्रहार खेर गयो । खेलको ८२ औं मिनेटमा धनगढीका टंक बस्नेत गोल गर्नबाट चुके । खेलको ९० औंँ मिनेटमा काठमाडौंका बिनोङले हानेको बल गोलमा परिणत हुन सकेन ।

काठमाडौंँले धनगढीसँग लिग चरण र प्लेअफमा ब्यहोरेको हारेको बदला आजको फाइनल खेलमा लिएको थियो । फाइनल खेलको उदीयमान खेलाडी काठमाडौंँका राजन गुरुङ घोषित भए । यस्तै काठमाडौंँकै फ्लोरेन्ट कोरा प्लेयर अफ दि म्याच घोषित भए ।

Back to top