×

फाइल तस्बिर

वीरगञ्ज, ३१ बैशाख । पर्सा जिल्लामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । शुक्रवार निषेधाज्ञाको १५ औँ दिन । निषेधाज्ञा बढ्दै गरेको कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्नका लागि उपयोगी मानिएको छ ।

तसर्थ अहिले तिव्र गतिमा संक्रमण फैलिरहँदा निषेधाज्ञा अँझै लम्बिने निश्चित छ । तर लम्बिँदै गएको निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्ने परिवारको दैनिकी असहज बन्दै गएको छ । दिनभरी कमाएर साँझ बिहानको छाक टार्ने परिवारलाई निषेधाज्ञा बाधक बनेको छ ।

वीरगञ्जको रामगढवा निवासी रोज महम्मदलाई कोरोना भाइरस रोगभन्दा पनि परिवारको भोकको चिन्ता छ । उनि भन्छन्, ‘निषेधाज्ञा नहुँदा दिनभरी रिक्सा चलाएर कमाएको पैँसाले गुजारा चल्थ्यो, अहिले बन्द छ, काम छैन, घरमा खान केही छैन । म त २/४ दिन पानी मात्रै पिएर पनि बाँचुला तर साना छोराछोरीलाई के खुवाउने ?’ रोज महमदलाई मात्रै निषेधाज्ञाले पिरोलेको छैन ।

वीरगञ्जको रानिघाट निवासी सुनिता देवी पनि दुःखित छिन् । कपडामा इस्त्री लगाउने देवीको पुख्र्यौली पेशा हो । त्यही पेशाबाटै उनले घरखर्च चलाउँदै आएकी छिन् । हुन त जिविकोपार्जन हुने हिसावले उनको पसल नचलेपनि ग्राहक आउलान्, कमाउँला अनि खाउँला भन्ने आशा भने पक्कै थियो । तर निषेधाज्ञाले त्यही आशालाई पनि निराशामा बदलिदिएको छ ।

गत वर्षको बन्दाबन्दी (लकडाउन) मा वीरगञ्ज महानगरपालिकासहित विभिन्न संघ संस्था तथा व्यक्तिहरुले वितरण गरेको राहत सामाग्रीले केही दिन भएपनि आडस दिएको देवीले बताईन । अहिले निषेधाज्ञाको १५ दिन बितिसक्दा पनि राहतको ‘र’ समेत सुन्न नपाएको उनको भनाई छ ।

 रोज महमद र सुनिता देवी प्रतिनिधिमुलक पात्र मात्र हुन् । यस्तै हजारौँ नागरिकलाई रोग  भन्दा पनि भोकको चिन्ताले सताईरहेको छ । कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी गर्नु सह्रानिय कार्य भएपनि त्यसले पार्ने प्रभावको बारेमा पनि सोच्नुपर्नेमा नेपाल सुशासन अभियानका सदस्य मधुसुदन चौरसियाले जोड दिए । १४ वटै स्थानीय तहले आ–आफ्ना स्थानीय तहका नागरिकलाई अभिभावकत्व प्रदान गर्ने हो भने कोही पनि जनता भोकै नमर्ने चौरसियाको भनाई छ ।

निषेधाज्ञा लगाएर सबै बन्द गर्ने सरकारले विपन्न तथा गरिब परिवारको लागि पनि केही व्यवस्था गर्ला भन्ने आश पालेर बसेका जनताहरुप्रति उदासिन हुनुले सरकारको असक्षमतालाई उर्जागर गरेको छ । 
 

Back to top