×

फाइल तस्बिर

वीरगञ्ज, ३१ बैशाख ।  अघिल्लो वर्ष लकडाउनका कारण अवरुद्ध नेपाली खेल क्षेत्रले बिस्तारै लय समात्दै थियो। महामारीको दोस्रो लहर फैलिएपछि खेल गतिविधि अवरुद्ध भएका छन्। निर्धारित खेल तालिका स्थगित हुँदा खेलकुदको वार्षिक क्यालेन्डर पनि प्रभावित भएको छ। केही खेलका संघले भर्चुअल रुपमा सेमिनार गरे पनि अन्य गतिविधि भने महामारी अन्त्य नभई अघि बढ्ने देखिएको छैन।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन फुटबल लिग स्थगित भएको सूचना मंगलबार दिएको छ। लामो योजना र केही समय चल्ने प्रतियोगिता अब कहिले हुने हो टुंगो छैन। 

नेपाल क्रिकेट संघले वैशाख १७ गते नै आफ्ना सबै गतिविधि स्थगित भएको जनाएको थियो। गत वर्ष २०७७ सुरु हुँदै गर्दा पनि देशमा खेलकुदको माहोल यस्तै थियो। तर जेठ लाग्दै गर्दा केही खेलका अभ्यास सुरु हुने क्रममा थिए।

अहिले अवस्था जटिल छ। दैनिक आठ हजारभन्दा धेरै जनामा कोभिड १९ का बिरामी देखा पर्न थालेका छन्। मृत्यु हुनेको संख्या बढ्दो छ।

नेपाली खेलकुद पुसदेखि बिस्तारै चलमलाउन थालेको थियो। मंसिरमा नेपाली टिमले बंगलादेशमा खेलेको थियो। यस्तै राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएपछि खेलका गतिविधि बाक्लिन थालेका थिए। पुस, माघ, फागुन र चैत निकै वटा प्रतियोगिता भए। 

पुसमा महिला पीएम कप दाङमा आयोजना भयो। उपत्यकामा मात्र हुने यस्ता प्रतियोगिता मोफसलमा पुग्दा त्यसले छुट्टै रौनक ल्याएको थियो। पुरुषतर्फको पीएम कप भने काठमाडौंमा भयो।

Back to top