×

वीरगञ्ज, २५ बैशाख । पर्साको सुगौली पटेर्वा निवासी ३५ वर्षीय आशा माझीको टाउको खुकुरी प्रहारबाट ३ चिरा भयो । रक्सि खाएको तालमा छिमेकीले खुकुरी प्रहार गर्दा उनको टाउकोमा गम्भिर चोट लागेको हो ।

टाउकोमा धेरै रगत बगेपछि परिवारले उपचार गर्न वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा लिएर गए । बिरामीका परिवार न्युन आर्थीक अवस्थाबाट गुज्रिरहेका थिए । नेशनल मेडिकल कलेज आफैमा गरिब तथा विपन्न परिवारका बिरामीहरुको लागि हैन भन्ने आम जनमानसमा बुझाई पनि छ । अतः त्यो बुझाई पनि सत्य सावित भयो ।

३ चिरा परेको माझीको टाउकोबाट बगीरहेको रगतलाई समेत नरोकी अन्यत्र लैजान भनेपछि माझीका परिवारमा कस्तो आपत आइप¥यो होला ? टाउकोबाट रगत बगीरहेको र उपचार गर्ने पैँसा पनि नभएपछि अब कहाँ लैजाने ? कसरी उपचार गर्ने भन्ने चिन्ताले माझीका परिवारलाई सताउन थाल्यो ।

त्यही आपतको घडिमा एकजनाले न्युरोसर्जन डा. बिपिन चौरसियाकहाँ जाना सुझाव दिए । त्यो सुझावले माझीका परिवारलाई ढुङ्गा खोज्दा देउता भेटेजस्तै भएको थियो । डा. चौरसिया जय पोली क्लिनीक र भवानी हस्पिटलमा कार्यरत थिए । डा. चौरसियालाई खोज्दै माझीका परिवार उनलाई लिएर भवानी हस्पिटल पुगे ।

घडिमा रातिको ११ बजिरहेको थियो । इमरजेन्सी केस भनेर हस्पिटल प्रशासनले डा. चौरसियालाई खबर गरेपछि उनी भवानी हस्पिटलमा पुगे । मस्त निद्रामा सुतिरहेको बेला रातिको ११ बजेपनि अस्पतालबाट कल आएपछि अस्पताल पुग्नुले डा. चौरसियाको कर्तव्यबोधलाई झल्काउँछ ।

उनि हस्पिटलमा पुगेर घाइतेको अवस्था नियालीसकेपछि प्राइमेरी स्टिचिंग गरेर टाउकोबाट बगीरहेको रगतलाई रोके । सामान्य उपचारपछि सिटि स्क्यान गर्नुपर्ने थियो । त्यसको लागि ४ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने थियो । तर गोजीमा २ सय ५० रुपैयाँ मात्रै बोकेर आएका उनिलाई साढे ४ हजार परको कुरा थियो ।

तसर्थ डा. चौरसियाले आफै साढे ४ हजार रुपैँया दिएर सिटि स्क्यान गराए । सिटि स्क्यानको रिपोर्टअनुसार उनको टाउकोमा हड्डी पनि फुट्नुका साथै मस्तिष्कमा धेरै मात्रामा रगत जमेको थियो । घाइतेलाई बचाउन अन्तिम बिकल्प भनेकै शल्यक्रिया थियो । एक घण्टाभित्र शल्यक्रिया नगरे माझीलाई बचाउन मुश्किल थियो । शल्यक्रिया गर्नुभन्दा अघि अस्पतालमा भर्ना गनुपर्ने, औषधी खरिद गर्नुपर्ने लगायतका कामको लागि रकमको अभाव थियो । 

बिरामीको बुवाको खुट्टामा चप्पल थिएन । छोराछोरी स(साना थिए । खानासम्मको पैसा थिएन । डां चौरसिया भन्छन्, त्यतिखेर उपचार नदिए बिरामीको ज्यान जान सक्ने अवस्था थियो । त्यसैले मैले आफै अग्रसरता लिएर शल्यक्रिया गरे । मानवतालाई मध्यनजर गर्दै डा. चौरसियाले आफै औषधोपचारको खर्च व्योहोर्ने निर्णय गरे । 

‘शल्यक्रिया गर्ने निर्णय भयो । हुनतः अस्पताल प्रशासनले भर्ना लिन मानेको थिएन । तर, मैले आफ्नै रिक्समा भर्ना गरेर शल्यक्रियासम्मको वातावरण मिलाए । २ पिन्ट रगतको आवश्यक्ता पर्यो र आफै २ हजार पैँसा दिएर रगत ल्याउन लगाए । शल्यक्रिया आफैमा महँगो हुन्छ । तर, त्यो पनि मैले नै व्योहोरे । औषधी खरिद गर्न पनि पैसा नभएर मेडिकलबाट आफै जिम्मा लिएर औषधी मगाए ।

अब शल्यक्रिया गरेपछि कम से कम एक दिन बिरामीलाई आईसियुमा त राख्नै पर्यो । १ दिन आईसियुमा राखेर वार्डमा सिफ्ट गर्यौ । साह्रै जटिल शल्यक्रिया थियो । त्यही भएर समयसमयमा आफैँ बिरामी हेर्न गईरहेको थिए । बिरामीमा क्रमिक सुधार हुँदै गयो । बिस्तारै सबै सामान्य भयो । न्युरोलोजिकल डिफिन्सी केही भएन ।’

आफ्नो बिरामीलाई बचाईदिएको भन्दै बिरामीका परिवारजन असाध्यै हर्षित छन् । निम्न वर्गहरुको पिडा बुझेर निःशूल्क रुपमा शल्यक्रियादेखि औषधोपचारसम्मको व्यवस्था गर्ने डा. चौरसिया प्रति परिवारजनले धन्यवाद प्रकट गरेका छन् । उनीहरुका अनुसार डा. चौरसियाजस्तै अन्य सबैजनाले पनि गरिब, निम्न वर्गियहरुको पिडा बुझीदिने हो भने उपचार अभावमा कोही गरिबको ज्यान जाने थिएन । 

हाल बिरामीको स्वास्थ्य अवस्था सामान्य छ । पाकिस्तानबाट एमबिबिएसको डिग्री हासिल गरेका डा. चौरसिया यसअघि विदेशका अस्पतालमा काम गर्दै आएका थिए । उनले बंगलादेशको ढाकाबाट न्युरो सर्जरीको अध्ययन गरेका छन् । पर्साको विन्दावासिनी बहुअर्वा भाठा घर भएका डा. चौरसिया युरोपको इएनएस अवार्ड एसिया पाउने पहिलो न्युरो सर्जक हुन् । 
 

Back to top