×

वीरगञ्ज, २८ बैशाख । शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा काम गर्दै आएका प्रहरी जस्तोसुकै महामारीमा पनि अग्रपङ्क्तिमा खटिदैँ आएका छन् । भूकम्प, हावाहुरी, बाढी, डुबान लगायतका दैविक प्रकोपको बेलादेखि विभिन्न किसिमका रोगहरुको महामारीसम्म पनि सुरक्षाकर्मीको भुमिका महत्वपूर्ण रहँदै आएको कुरालाई नकार्न सकिन्न ।

पहिलो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न पनि प्रहरीको भूमिका महत्वपूण थियो । अहिले दोस्रो लहरमा फैलिएको संक्रमण नियन्त्रणमा पनि प्रहरीले उत्तिकै सक्रियता बढाएको छ । भारतसँग खुला सीमा जोडिएको प्रदेश नम्बर २ अँझै संक्रमणको उच्च जोखिममा छ । तसर्थ सोही जोखिमलाई मध्यनजर गर्दै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले शान्ति सुरक्षासँगै नागरिकलाई उपचारमा पनि सघाएर ‘प्रहरी मेरो साथी’ को नारालाई सार्थकता प्रदान गरेको छ । 

कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको अभाव खट्किरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालयले अक्सिजनको जोहो गरेर अक्सिजन अभावकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरज प्रताप सिंहका अनुसार प्रदेश मातहतका विभिन्न जिल्लाहरुबाट ९ सय थान अक्सिजन सिलिण्डर बरामद गरेर विभिन्न अस्पतालहरुमा उपलब्ध गराइएको छ । अनावश्यक रुपमा व्यक्तिगत प्रयोजनका लागि खरिद गरेर बजारमा कृतिम अभावको सृजना गरको भन्दै प्रहरीले विभिन्न उद्योग, कलकारखाना, पसल, गोदाम लगायतका ठाउँमा स्टक गरी राखिएका खाली र भरी सिलिण्डर बरामद गरेको हो । 

बरामद खाली सिलिण्डरलाई भरेर आवश्यक भएको अस्पतालमा पु-याउने काम भइरहेको डीआईजी सिँहले यात्राडेलीलाई बताए । सिँहले भने, ‘कसैले अनावश्यक रुपमा मेडिकल प्रयोगबाहेकका ठाउँमा स्टक गरेर राख्ने र अस्पालहरुमा अक्सिजन नै नपाएर मर्नुपर्ने अवस्था छ । त्यसैले हामी यसको विरुद्धमा छौँ । प्रदेशका ८ वटै जिल्लाका प्रहरीहरुले पनि सोहीअनुसार काम गरीरहेका छन् ।’ 

बरामद गरिएका अक्सिजनहरु वीरगञ्जको नारायणी अस्पताल, धनुषा लगायतका ठाउँमा उपलब्ध गराइएको डीआईजी सिँहले बताए । यसका अलावा कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन विभिन्न जनचेतनामुलक कार्यक्रमका साथै मास्क, सेनीटाइजर वितरण, मास्क, नलगाउनेलाई जरिवाना समेत गर्ने गरिएको सिँहले बताए । 

डीआईजी सिँहका अनुसार मास्क नलगाउनेलाई गरिएको जरिवानाबाट १९ लाख १५ हजार भन्दा बढी राजस्वसमेत संकलन भएको छ । प्रहरीले समस्यामा परेका अन्य नागरिकलाई सेवा गर्नै अभिप्रायले हेल्प डेस्क स्थापना गरी सामाजिक कामहरु पनि गरीरहेको डीआईजी सिँहको भनाई छ । 

अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको समेत प्रवाह नगरी काम गरीरहेका सुरक्षाकर्मीले संक्रमणको चेन ब्रेक गर्न जारी निषेधाज्ञाो कार्यन्वयवन गर्न÷गराउन, संक्रमितलाई उपचारको व्यवस्थापन गर्न, अतिआवश्यक सामाग्री किनमेलन गर्न लगायतका कार्यहरुमा जनतालाई सघाउँदै आएको छ । 

जस्तोसुकै आपतविपतमा पनि अग्रपङ्क्तिमा काम गर्ने सुरक्षाकर्मीहरुलाई भने राज्यले जोखिमको समयमा प्रोत्साहन गर्न नसकेको आम नागरिकको बुझाई छ । आवश्यक स्रोत साधनको अभावका बिच पनि प्रहरी र सुरक्षाकर्मीको सक्रियतालाई सलाम छ । 

Back to top