×

वीरगञ्ज, २८ बैशाख । आज वैशाखकृष्ण पक्षको औंसी तिथि अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदाता आमालाई सम्मान गरी मनाइने यो पर्वलाई ‘आमा खुवाउने औंसी’ पनि भनिन्छ ।

यस दिन आमालाई मनपर्ने खानेकुरा खुवाएर आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर गरिन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई उपहार दिई मीठा र तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने गर्दछन् । 
आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमाको सम्झना गर्दछन् ।  

दुःख पीडा पर्दा खेरी आमाको याद आयो 
अप्ठ्यारोमा पनि मेरी आमाको याद आयो ।
आउन त आउँथ्यो हर बखत आउँथ्यो तर 
विशेष गरि आज फेरि आमाको याद आयो ।। 

सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व बुवाभन्दा बढी मानिन्छ । त्यसैले आमालाई सम्मान गरी खुसीपूर्वक राख्नुपर्ने धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउँछन् ।

Back to top