×

वीरगञ्ज, २६ बैशाख । ‘डा. साब म बाँच्छु कि बाँच्दिन ? हेर्नु न यहाँ भर्खरका मानिसहरु मरेको समाचार आइरहेको छ । मलाई बाँच्छु जस्तो लाग्दैन डा. साब ।’ यस्तै यस्तै दुःखद अनि भावुक प्रश्न र जिज्ञासाको सामना गर्नुपर्छ सिकेन्द्र साह कानुले ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ औराहा पञ्चेगावा निवासी कानु पेशाले हेल्थ असिस्टेन्ट हुन् । २१ वर्षको कलिलो उमेरमै उनले १७ वर्षीय किशोरीदेखि ७४ वर्षीय बृद्धको समेत हौसला बढाउँदैछन् ।

वीरगञ्जस्थित इभरग्रिन कलेजमा हेल्थ असिस्टेन्ट अध्ययन गरेका कानु नेपालकै सुन्दर अनि प्रकृतिको धनी शहर पोखरामा पनि काम गरेर हाल वीरगञ्जस्थित नारायणी अस्पतालको इमरजेन्सी विभागमा इन्टर्नसिपमा कार्यरत थिए । डा. दीपक चौरसियाको नेतृत्वमा कानुले वीरगञ्जका विभिन्न स्थानमा होम आइसोलेट भएर बसेका कोरोना संक्रमितहरुको उपचार गर्छन् । वीरगञ्जको बिर्ता, पावरहाउस, अशोकबाटीका, रेशमकोठी, रानिघाठ लगायतका स्थानमा बस्ने संक्रमितहरुको घरघरमै गएर उनले सुई लगाउनेदेखि औषधी खुवाउने सम्मका काम गर्छन् ।

बिहान ६ बजे कोठाबाट निस्एिका कानु ४/५ जना संक्रमितको घरमा पुगेर हेरचाह गरेर १० बजेतिर खाना खानका लागि कोठा फर्किन्छन् । खाना खाइसकेपछि अपरान्ह ३ बजेसम्मको समय उनको क्लिनिकमा बित्छ । क्लिनिकमा पनि कोभिड शंकास्पद तथा संक्रमितहरुको सेवा गर्ने कानुलाई पहिलो दिन भने होम आइसोलेट भएर बसेका संक्रमितको घर जाँदा मनमा अलिकति त्रास पैदा भएको सुनाउँछन् । कानु भन्छन्, ‘दुनिया डराइरहेको छ म पनि डराउनु स्वभाविक थियो । तर पनि आफ्नो कर्तव्यबाट विमुख हने अवस्था भने थिएन ।’ ‘स्वास्थ्यकर्मीको नाताले पनि अरुको ज्यान बचाउने हाम्रो दायित्व हो’ उनले भने ।

दैनिक ८ देखि १० जना कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहने कानुले संक्रमितको पिडालाई नजिकबाट नियालेका छन् । उनको बुझाईअनुसार मानिसलाई कोरोना भाइरसको रोगले भन्दा पनि सामाजिक सञ्जालको उपभोगले बढी चिन्ता थपेको छ । कोरोना संक्रमितको संख्या बढेको, संक्रमितको मृत्यु भएका समाचारहरु हेरेर पनि उनिहरुमा मनोवल गिरेको पाइन्छ । मन र मस्तिष्कले जस्तो सोच्छ त्यस्तै किसिमको हर्माेनहरु हाम्रो शरीरले पैदा गर्छ भन्ने पनि सुनिन्छ ।

यसर्थ सकारात्मक सोच र बलियो आत्मविश्वासले भाइरसलाई पराजित गर्ने शक्ति प्रदान गर्छ । शुरुमा सामान्य लक्ष्ण देखिनेबित्तिकै कम समय र कम पैँसामा उपचार हुने अवस्थामा घरमै आफै डाक्टर बनेर समय बिताउने र पछि गएर धेरै समय र धेरै पैसाँ खर्च हुनुका साथै बाँच्ने सम्भावना पनि कम हुने बेलामा चिकित्सक र अस्पताल गुहार्ने प्रवृतिको अन्तय हुनुपर्ने कानुको धारणा छ ।

उनी भन्छन्, ‘अहिले घरमै श्रीमती तथा अन्य आफन्तले नजिक आउन नमानीरहेको बेलामा हामी अन्जान व्यक्ति बचाउनका लागि लागिरहेका छौँ ।’ यस्तो बेलामा अँझै बढी हेरचाह, साथ र शक्तिबद्र्धक खानाको आवश्यक्ता पर्ने भएकाले परिवारबाटै अवहेलना नगर्न पनि उनले आग्रह गरेका छन् ।

सकारात्मक सोचले उर्जा प्रदान हुने र पिसिआर रिपोर्ट नेगेटिभ आउने हुँदा मानसिक तनावमुक्त भई सकारात्मक सोच र उत्प्रेरक सन्देशहरुको अध्ययन गर्न पनि उनले अपिल गरेका छन् । 
 

Back to top