×

अशोक कुमार वैद्य
वीरगञ्ज, २४ बैशाख ।
 

                   मेडिकलको कामका लागि दक्षिण भारतको यात्रा सकेर फर्किको ३ दिनपछि स्वास्थ्यमा सामान्य समस्या देखियो । हुन त म स्वास्थ्य सावधानी अपनाएरै यात्रा सकेर फर्किएको थियो । तर पनि भनिन्छ नी खाने मुखलाई जुँगाले छेक्दैन भनेर । हो त्यस्तै भयो सायद मलाई पनि । 

दक्षिण भारतको यात्रा सकेर फर्किएको ३ दिपछि अस्वस्थताको आभाष भएर रगत परीक्षण गराए । रगत परीक्षण गर्ने क्रममा पिसिआर पनि परीक्षण गर्न चिकित्सकलाई आग्रह गरे । स्वाब संकलन गरेदेखि मनमा विभिन्न उत्सुकताहरु खेलिरहेका थिए । पोजेटिभ आउँछ कि नेगेटिभ भन्ने कौतुहलताले सताईरहेको बेलामा राति आएको रिपोर्टअनुसार अन्तत: पोजेटिभ आउने तर्कको सामु नेगेटिभ आउने बिचारले हार खायो । 

हरेक कुराहरु पोजेटिभ होस् भन्ने सबैको चाहना हुन्छ । तर पिसीआर रिपोर्ट मात्रै यस्तो रिपोर्ट हो जुन पोजेटिभ नभएर नेगेटिभ आओस् भनेर मानिसले प्रार्थना गर्छन् । मेरो त पोजेटिभ आयो–आयो । त्यति धेरै आत्तिएन । तर मेरो छोरा, छोरी र ज्वाइँको पनि रिपोर्ट पोजेटिभ आएपछि अलि मन बिचलित भएको थियो । तर पनि आत्मविश्वास भने बलियो थियो । आत्मविश्वास भएकै कारण म घरमै होम आइसोलेट भएर बसे । 

वीरगञ्जको गण्डकस्थित नारायणी वयोद्या अस्पतालको सञ्चालक पनि भएकाले धेरैले मलाई जिज्ञासा पनि राखे । आफ्न अस्पताल हुँदा हुँदै घरमै किन बस्नुभयो भनेर । सकेसम्म कोही पनि मानिसले चाँहदैन कि अस्पताल जानुपरोस् भनेर । ममा अस्पताल जान परोस् भन्ने चाहना कसरी हुन्थ्यो । तसर्थ जसको घरमा बस्ने ठाउँ छैन । जसलाई अस्पतालको बेड र अस्पतालका चिकित्सकको हेरचाहको आवश्यक्ता छ उनिहरु नै अस्पताल जाउन् भन्ने मेरो आशय थियो ।

 स्वास्थ्य मापदण्डको पालना गरियो, खानपानमा विशेष ध्यान दिन सकियो र सकभर योगा तथा शारिरीक अभ्यास गर्न सके घरमै बसेर पनि कोरोना भाइरसलाई परास्त गर्न सकिन्छ भन्ने सन्देश मैले मेरो भोगाई तथा अनुभवबाट दिन खोजेको हुँ । खाना खाँदा पनि विस्थापन गर्न सकिने सामाग्रीको प्रयोगले अँझै सघाउ पुग्छ । मैले पनि सोही विधी अपनाए । मैले प्रयोग गरेका गिलास, प्लेट सबै विस्तापित गरियो । जसका कारण परिवारका अन्य सदस्यहरुलाई संक्रमण हुने सम्भावना भएन । अहिले सामाजिक सञ्जालहरुमा विभिन्न किसिमका प्रचारहरु  पनि आउँछन् । त्यस्ता औषधीहरुको प्रयोगबाट बच्न र डाक्टरले दिएको औषधी बाहेक अरु केही पनि प्रयोग नगर्न मलाई पहिले नै चिकित्सकले सचेत गराएका थिए । म धन्य छु ति चिकित्सकप्रति । 

मैले डाक्टरले दिएको औषधीका अलावा दिनमा २ पटक बाफ लिने, अलोम, बिलोम गर्ने लगायतका कार्यहरु पनि गरे । जसले मलाई मानसिक तनावबाट मुक्त गर्न सहयोग मिल्यो । अहिले मानिस रोग भन्दा पनि शोकले मर्नुपर्ने अवस्था छ । तसर्थ कुनै किसिमको मानसिक तनाव नलिएर म ठीक हुन्छु भन्ने आत्मविश्वास भयो भने उसलाई संक्रमणमुक्त हुन केहीले पनि रोक्दैन, यो मेरो अनुभव हो । म आफै दमको बिरामी पनि भएकाले अलि जटिल थियो । तर पनि म घरमै स्वास्थ्य सावधानी अपनाएर ११ दिनपछि संक्रमणमुक्त भए ।  

अहिले मानिसले शुरुमा सामान्य ज्वरो तथा रुघाखोकी लाग्ने बित्तिकै पिसिआर परीक्षण गराएर उपचार गराएमा छिटै निको हुन सकिन्छ । तर यहाँ आफै घरमै बसेर कोभिड पोजेटिभ आउने डरमा विभिन्न औषधीहरु प्रयोग गर्ने प्रवृति पनि बढ्दा अन्तिममा श्वासप्रश्वासमा समस्या देखिएपछि अन्तिमचरणमा उपचार गराउन अस्पताल र डाक्टर गुहार्छन् । यसले पनि उपचार गर्न तथा बचाउन चिकित्सकलाई समस्या हुने गरेको छ । 

फलस्वरुप चिकित्सहरुलाई पनि सहज हुने र ज्यान पनि सुरक्षित हुने एउटा मात्रै बिकल्प भनेको शुरुवाती चरणमै लापरवाही नगरी स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको पहुँचमा पुग्नु हो । संक्रमित भएर डराउनुपर्ने अवस्थामा निर्भिक भएर आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र संक्रमितको उपचारमा खटिने सम्पुर्ण स्वास्थ्यकर्मी तथा चिकित्सहरुका साथै सुरक्षाकर्मी, सरसफाईकर्मी, सञ्चारकर्मी लगायत अग्रपंक्तिमा खटिएर काम गर्ने सम्पुर्णप्रति उच्च सम्मान व्यक्त गर्दछु । 

लेखक नेपाल भारत सहयोग मंचका केन्द्रीय अध्यक्ष,  वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का सल्लाहकार हुन् । 
 

Back to top