वीरगञ्ज, २४ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालबाट हालसम्म १ सय २ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले उपलब्ध गराएको तथ्यांकअनुसार ३५ जना महिला र ६७ जना पुरुष गरी १ सय २ जना संक्रमितले कोरोना भाइरसलाई पराजित गरेका हुन् ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको लहर देखिएसँगै अस्पताल भर्ना भएका संक्रमितहरुले बिहिवारसम्मको अवधिमा १ सय २ जना डिस्चार्ज भएका हुन् । सोही अवधिसम्म २ सय ५६ जना संक्रमित नारायणी अस्पतालमा उपचाररत छन् ।
८९ जना महिला र १ सय ६७ जना संक्रमितको अहिले उपचार चलिरहेको डा. दासले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार अस्पतालमा रहेका १८ वटा भेन्टिलेटरमध्ये ११ वटामा संक्रमितहरुको उपचार चलिरहेको छ । दोस्रो लहरको कोरोना भाइरसबाट संक्रमित भएका ३७ जनाले नारायणी अस्पतालमा ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा १३ जना महिला र २४ जना पुरुष रहेका छन् । पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलित ४ हजार ५ सय १२ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गर्दा २ हजार ५ सय १८ जनामा संक्रमण पुष्ठि भएको छ ।
४ सय ८३ जनाको एन्टिजेन परीक्षण र्दा २ सय ५ जनामा संक्रमण पुष्ठि भएको छ । कोभिड संयोजक डा. दासका अनुसार नारायणी अस्पतालमा उपचाररत ५ जनामहिलासहित १० जना भने बेपत्ता भएका थिए ।