×

वीरगञ्ज, २४ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा भित्रिएका भारतीय सवारी साधन पक्राउ गर्ने अभियान थालेको छ ।

निषेधाज्ञाको समयमा भारतीय नागरिक र भारतीय सवारी साधन कुनै पनि हालतमा भित्रिन नदिन उक्त अभियान थालिएको पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताए । सोही अभियानअन्र्तगत शुक्रवार ९ वटा भारतिय मोटरसाइकल, १ वटा स्कारपियो र १ वटा नानो कार नियन्त्रणमा लिएको छ ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामिण क्षेत्रहरुमा चलाइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्जको विभिन्न स्थानबाट मोटरसाइकल नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, १६ र २२ स्थित विभिन्न सडक खण्डमा बेवारिसे अवस्थामा रहेका ६ लाख ७० हजार मूल्य बराबरका ९ वटा मोटरसाइकल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताए ।

डिस्कभर कम्पनीको बिआर ०५ भि ११६, सुपर कम्पनीका बिआर ०५ यु ९०२६ र बिआर ०५वाई ६३६४, प्लाटिनाको बिआर ०५ वाई १९२८, हिरो होण्डाको बिआर २२ एफ १९४०, अपाचेको बिआर ०५ एबी८४९६, १ सय ५० सिसि पल्सर बिआर ०५ ए ई ९९७३, प्यासन प्रोको बिआर ०५ एक्स ६६४७ र बिआर ०५ एम ३४२४ नम्बरको स्कुटी प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रीत सवारी साधनलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइएको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए । यसैविच पर्सा जिल्लामा जारी निषेधाज्ञा उलंघन गर्ने ४ सय ५७ वटा मोटरसाइकललाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

१६ गतेदेखि २२ गतेसम्मको अवधिमा नियन्त्रीत सवारी साधनमध्ये ३ सय १० वटा मोटरसाइकललाई जरिवाना गरेर छाडिएको प्रवक्ता खनालले बताए । खनालका अनुसार मोटरसाइकललाई जरिवाना तिराएर २ लाख १२ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ । २२ गतेपछि नियन्त्रणमा लिइएका सवारी साधनलाई भने ३० गतेपछि मात्रै जरिवाना तिराएर छोडिने छ ।

पहिलो पटक जारी निषेधाज्ञाको समयमा शुरुमा ५ सय र पछि १ हजार रुपैया जरिवाना तोकिएको छ । 
 

Back to top