×

वीरगञ्ज, २४ बैशाख । निषेधाज्ञाका कारण प्रभावित भएको भन्दै विद्युत् महशुल र कर बुझाउने समय थप्न पर्सा तथा बाराका उद्योगी व्यवासाीयले सराकारसँग माग गरेका छन् । 

वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योग व्यवासयहरुमा बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञाका कारण दैनिक उत्पादन, व्यवसाय र अन्य आन्तरिक कामहरु प्रभावित भएकाले समय थप्नुपर्ने निजी क्षेत्रको माग छ । 

वीरगञ्ज उद्योग वाणिज्य संघले नेपाल विद्युत् प्राधिकरण र आन्तरिक राजस्व विभागलाई पत्र लेखेर तोकिएको समयभित्र विद्युत् महसुल र कर दाखिला गर्न सक्ने अवस्था नरहेको बताएको छ । 
स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा भएकाले अहिले उद्योग प्रतिष्ठानमा कर्मचारी तथा कामदार आवतजावत गर्न नसकेकाले समस्या भएको संघका अध्यक्ष सुवोधकुमार गुप्ताले बताए ।

कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाले दैनिक उपभोग्यवाहेकका व्यापार, व्यवसाय, उद्योग तथा आवागमनसमेत बन्द भएकाले समस्या भएको गुप्ताको भनाइ छ ।
विगत बन्दाबन्दीले मारमा परेका उद्योग व्यवसाय सामान्य गतिमा अघि बढ्नेक्रममा रहेका बेला कोरोनाको दास्रो लहर शुरू भएको र नियन्त्रणका लागि अपनाइएको निषेधाज्ञाले थप मार परेको संघका उपाध्यक्ष माधव राजपालले बताए । 

सानो लगानीमा सञ्चालनीत उद्योग र व्यवसायीहरूमा विद्युतीय प्रविधिबाट महशुल दाखिला गर्न सक्ने दक्षता नभएको संघको ठहर छ । ठूलो प्रकृतिका उद्योग व्यवसायमा समेत प्राविधिक तथा प्रशासनिक कर्मचारीको अनुपस्थितिले विद्युतीय माध्यमबाट महशुल दाखिला गर्न सम्भव नभएको संघका उपाध्यक्ष हरि गौतमले बताए । 

निषेधाज्ञा हटेपछि विद्युत् महशुल, कर विवरण र कर चुक्ता गर्नसक्ने सहुलियत दिन उद्यमी व्यावसायीले माग गरेका छन् । यो अवधिमा महशुल र कर तिर्न नसक्दा जरीवाना नलिन संघले सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
 

Back to top