×

वीरगञ्ज, २४ बैशाख । होटेल खुल्ने भनेकै व्यापार व्यवसायको लागि हो भन्ने भनाईलाई रेल्वे कटेज वीरगञ्जले गलत सावित गरेको छ ।

विश्वभरी फैलिएको कोरोना भाइरसले आतंकित बनाएको पर्सा जिल्लामा चेन ब्रेक गर्न लगाइएको निषेधाज्ञाका कारण प्रभावितहरुलाई निःशूल्क रुपमा भोजन वितरण गरेर रेल्वे कटेजले सामाजिक सेवाका लागि पनि होटल खुल्छन् भन्ने प्रमाणित गरेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसले थिलथिलो परेको वीरगञ्जमा काम, दाम केही पनि नभएका गरिब, विपन्न तथा बेसहाराहरुको सहारा बन्ने र भोकाहरुको भोक मेट्ने अभिप्रायले निःशूल्क भोजन वितरण गरिएको सामाजिक अभियानता एवम् कटेजका संरक्षक ओमप्रकाश सर्राफले बताए ।

बिहिवारदेखि शुरु गरिएको खाना खुवाउने कामलाई शुक्रवार बिहान परेको झरीले पनि छेकेन । ‘वर्षा भयो भन्दैमा भोकाएकाहरुको पेट भरिदैन । झरीमा भिज्दै भएपनि हामीले वीरगञ्जका विभिन्न स्थानमा गएर सुरक्षित रुपमा खाना वितरण गरेका छौँ ।’ सर्राफले यात्राडेलीसँगको संवादका क्रममा भने ।

बिहिवार पहिलो दिन २ सय जनाको भोक मेटेको कटेजले शुक्रवार १ सय ५० जनाको भोक मेटाएको कटेजका सञ्चालक तथा अभियानका संयोजक रवि गुप्ताले बताए ।

सो अवसरमा गरिब, विपन्न, अलपत्र परेका यात्रु, सडक मानव, अस्पतालमा रहेका बिरामीका कुरुवा लगायतलाई अभियानका सन्ज्य पटेल, राहुल रौनियार, किशु सर्राफ, शिवम पटेल, पवन सर्राफ, सन्दिप नेपाल लगायतको सक्रियतामा खाना वितरण गरिएको हो । 
 

Back to top