×

वीरगञ्ज, २१ बैशाख । दोस्रो लहरको कोरोना भाइरसको कहरले वीरगञ्ज आक्रान्त छ । दिनप्रतिदिन संक्रमित हुने र मृत्यु हुनेको संख्या उकालो लाग्ने क्रम रोकिएको छैन । कोभिड १९ को भाइरसले कसैलाई विभेद गर्दैन, जसलाई पनि संक्रमण हुन सक्छ । चाहे बालबालिका होस्, युवा होस्, व्यस्क होस् तथा बृद्ध ।

अनि स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिप्ती यादवका अनुसार सुत्केरी तथा गर्भवति महिलाहरुलाई पनि संक्रमणको प्रबल सम्भावना हुन सक्छ । तर पनि प्रसुती गराउन तथा गर्भवति चेकजाँच गराउन आउनेहरुको क्रम भने रोकिएको छैन ।

वीरगञ्जस्थित नारायणी अस्पतालकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रिति यादवले दोस्रो लहरमा एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट देखिएकी एक गर्भवति महिलाको शल्यक्रिया गरेर सफल प्रसुती गराएकी छिन् ।

कोरोना भाइरसको संक्रमण हुने आशंकामा प्रसुति तथा शल्यक्रिया गराउन पनि डराउनुपर्ने अवस्थामा सामाजिक उत्तरदायित्व बहन गर्दै चिकित्सकको कर्तव्य सम्झिएर स्वास्थ्य सावधानी अपनाएर पर्साको पोखरिया नगरपालिका निवासी २२ वर्षीय महिलाको बैशाख १२ गते सफल शल्यक्रिया गरिएको डा. प्रिति यादवले बताइन् ।

दोस्रो लहरको कोरोना शुरु भएयता ४ जना गर्भवति महिलाको शल्यक्रिया गरिएको छ । एन्टिजेन परीक्षणको रिपोर्ट पोजेटिभ देखिएका ४ जनामध्ये २ जनाको डा. प्रिति यादव र २ जनाको डा. सलमा बाणु नेतृत्वको समुहले शल्यक्रिया गरेको हो । डा. यादवले बैशाख १७ गते बाराको बिश्रामपुर गाउँपालिका निवासी २३ वर्षीय महिलाको पनि शल्यक्रिया गरेकी हुन् ।

नारायणी अस्पतालको गाइनो वार्डमा पुर्ण रुपमा स्वास्थ्य सावधानी अपनाएर शल्यक्रिया गरिएको हो । चिकित्सकले तोकिएको समयभित्र पनि सुत्केरी व्यथा नलागेपछि चेकजाँचका लागि आएकी महिलाको एन्टिजेन  परीक्षण गर्दा  पोजेटिभ रिपोर्ट आएपनि शल्यक्रिया गरेर प्रसुति गराएको उनको भनाई छ ।

दोस्रो लहरको कोरोना भाइरसको आक्रान्त बिचमा एन्टिजेन रिपोर्ट पोजेटिभ देखिएको महिलाको पहिलो पटक शल्यक्रिया गर्ने चिकित्सकको रुपमा पनि यादवले आफ्नो परिचय स्थापित गरेकी छिन् । शल्यक्रियापछि पनि आमा तथा बच्चाको अवस्था एकदम सामान्य रहेको छ ।

तसर्थ वर्तमान परिवेशमा गर्भवति चेकजाँच तथा सुत्केरी व्यथा जस्ता जुनसुकै पनि स्त्री तथा प्रसुतिसम्बन्धी समस्याहरु देखिएमा नडराएर ढुक्कका साथ स्वास्थ्य मापदण्डको पालना गरेर अस्पताल आउन पनि डा. यादवले सुझाव दिएकी छिन् । 

Back to top