×

वीरगञ्ज, २१ बैशाख । पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि ८ दिन थप्न सिफारिस गरिएको छ । वैशाख १६ गते बिहान ६ बजेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि २२ गते राति १२ बजे सकिने समय थियो ।

तर त्यसको अघिल्लो दिन मंगलवार (आज) बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले निषेधाज्ञा बैशाख ३० गते राति १२ बजेसम्म लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अधयक्षतामा बसेको बैठकले कोभिड १९ को  संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा उपयोगी भएको ठहर गर्दै चेन ब्रेक गर्न लम्ब्याउनुपर्ने निस्कर्ष निकाल्दै सिफारिस गर्ने निर्णय भएको हो ।

बैठकमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सञ्ज्य कुमार ठाकुर, चण्डीप्रसाद गणका प्रमुख सेनानी मदनजंग राणा, प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, प्रमुख अनुसन्धान अधिकृत रामबाबु चौधरी, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्मुख कामेश्वर चौरसिया, नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अधयक्ष अनुप तिवारी, होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कँडेल लगायतको उपस्थिती रहेको थियो । 


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (DCCMC)का निर्णयहरु (२०७८–०१–२१)

 निर्णय नं १

DCCMC को पूर्ववत् बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा गरियो ।

निर्णय नं २

हाल जिल्लाको कोभिड–१९ को संक्रमणको अवस्था नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा भए/गरेका कामको समिक्षा गर्दै यस सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकारका निर्णय र निर्देशनहरु DCCMC  एवं स्थानीय तह र सम्बद्ध निकायहरुबीचको आपसी समन्वयमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने÷गराउने ।

निर्णय नं ३

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८–०१–१९ को कोभिड–१९ नियन्त्रण सम्बन्धी निर्णयहरु बैठकमा प्रस्तुत भई छलफल भयो र यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरियो ।

निर्णय नं ४

यस जिल्लामा संचालित अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पूर्ण क्षमतामा संचालन गर्न अनुरोध गर्ने र यसका लागि चाहिने आवश्यक सहयोग गर्ने । हाल उत्पादित अक्सिजन स्वास्थ्य क्षेत्रमा उपलब्ध गराउने । अन्यत्र क्षेत्रमा आपूर्ति नगर्ने । अक्सिजन उद्योगहरुबाट हुने अक्सिजनको उत्पादन, भन्डारण र बिक्री वितरणको दैनिक अनुगमन एवं प्रतिवेदन गर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने ।

निर्णय नं ५

यस जिल्लामा कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड–१९ को संक्रमणको श्रृङ्खला तोड्न (Chain Break गर्न) उपयोगी भएको देखिएकोले हाल जारी आदेशलाई यही मिति २०७८–०१–३० गते राती १२ः०० बजेसम्म थप गर्न उपयुक्त हुँदा सो को लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।

निर्णय नं ६

कोभिड–१९ को संक्रमित विरामीको उपचार गर्न बीरगंज महानगरपालिकाद्वारा बीरगंज महानगरपालिका भित्र उपयुक्त स्थानमा १०० बेड क्षमताको कोभिड–१९ अस्थायी विशेष अस्पताल यथाशिघ्र सञ्चालनमा ल्याई उपचार सेवा शुरु गर्ने । त्यसैगरी तत्कालै १०० बेड क्षमताको आईसोलेशन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने ।

निर्णय नं ७

कोभिड–१९ को परिक्षण गर्ने कार्यलाई सहज बनाउन बीरगंज महानगरपालिकाले उपयुक्त स्थानमा स्वाब संकलन केन्द्र स्थापना गरी स्वाब संकलन गर्ने र संकलित स्वाबको परिक्षण नारायणी उपक्षेत्रीय अस्पतालमा गर्ने व्यवस्था मिलाउने ।

निर्णय नं ८

नारायणी अस्पताल विकास समिति, पर्साबाट माग गरिएका निम्न २ जना कर्मचारीहरुलाई कोभिड–१९ को विरामीको उपचार गर्ने काममा खटाईएकोमा निजहरुसँग नारायणी अस्पतालले बढिमा चार महिनाको करार सम्झौता गरी सोही अस्पतालले कार्य गरेको प्रमाणित गरेको आधारमा निजहरुलाई प्रदेश सरकारले DCCMC लाई उपलब्ध गराएको बजेटबाट नियमानुसारको  पारिश्रमिक उपलब्ध गराउने निर्णय गरियो ।

निम्न

डा. राजिब यादव
नन्दन कुमार सिंह
 

Back to top