×

वीरगञ्ज, २१ बैशाख । पर्सा जिल्लामा जारी निषेज्ञाको मंगलवार छैँठौ दिन । बैशाख १६ गते बिहिवार बिहान ६ बजेदेखि लगाईको निषेधाज्ञाको अवधि बैशाख २२ गते राति १२ बजे सकिने छ । शुरुमा १ साताका लागि लगाइएको निषेधाज्ञा यतिमै सकिन्छ भन्नेमा भने विश्वस्त हुन सकिन्न ।

दिनप्रतिदिन बढ्दै गरेको संक्रमितको संख्या र मृतकको संख्यालाई हेर्ने हो भने निषेधाज्ञाको अवधि अँझै लम्बिदै जान्छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सेवा सुविधाहरु बन्द गरिएको छ । निषेधाज्ञाका कारण महामारी नियन्त्रण तथा रोकथाममा सघाउ पुग्ला तर निषेधाज्ञाका कारण नियमत ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुको अवस्था के होला ? कसरी गुजारी चलिरहेको छ होला भनेर पनि सम्बन्धित सरोकारवालाहरुले सोच्न आवश्यक छ ।

दिनभरी काम गरेर बेलुका दुई छाकको जोहो गरेर परीवार पाल्दै आएकाहरु, अस्पतालमा रहेका बिरामीका कुरुवाहरु, ठेला तथा रिक्सा चालकहरुले आहारको व्यवस्थापन कसरी गरीरहेका छन् भन्नेतर्फ कसैको ध्यान जान नसकिरहेको अवस्था छ । पहिलो चरणमा महामारीको समयमा विभिन्न संघ संस्था, सामाजिक अभियानता, नागरिक समाजका अगुवाहरुले निःशुल्क भोजन वितरण, राहत वितरण लगायतका कार्यहरु गरेको भएपनि दोस्रो लहरको महामारीमा भने त्यस्तो हुन सकिरहेको छैन ।

यसअघि सानो पाइला, साहिब दरवार सेवा संस्थानका अध्यक्ष राजेशमान सिँह, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु, नागरिक समाजका अगुवा तथा वीरगञ्ज पब्लिक कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डा. दिपक शाक्य, सामाजिक अभियानता सरदार जसपाल सिँह लगायतले हजारौ नागरिकलाई निःशुल्क भोजन वितरण गरेका थिए । त्यो समयमा लकडाउन गरिएपनि नागरिकलाई अभिभावकको अभाव भएको थिएन ।

नागरिकले पनि उच्च मनोवलका साथ निषेधाज्ञाको पालना गर्दै सरकारलाई सहयोग गरेका थिए । तर अहिले भने जटिल किसिमको भाइरसको आगमनले आतंकित बनाउँदा पनि कसैले कुनै पहल नगर्दा नागरिकको मनोवल गिरेको देखिन्छ । पहिलो चरणमा निस्वार्थ रुपमा भोजन खुवाउने, राहत वितरण गर्ने समाजसेवी तथा अभियानाहरुको अभाव महसुस भएको वीरगञ्ज घण्टाघरका धर्मनाथ सर्राफले बताए ।

विगतमा निःशुल्क भोजन शिविर, राहत वितरणमा सहयोग गर्ने सहयोगी हातहरु मौन बस्नुको पछाडी नयाँ भेरियन्टसहितको भाइरसको डर त हैन भनेर आशंका पनि उत्पन्न भएको छ । तर जे होस् यदि कसैले शुभ कामको थालनी गरे यहाँका परोपकारी मन भएका उद्योगी, व्यावसायी एवम् अन्य सहयोग गर्नेहरुले असहयोग गर्लान भनेर कल्पना गर्ने अवस्था भने छैन । 
 

Back to top