×

वीरगञ्ज, २१ बैशाख । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार जैसवालले प्रदेश सरकारले विभेद गरेको आरोप लगाएका छन् ।

कोरोना भाइरसको महामारीबाट विश्वनै आक्रान्त अवस्थाबाट गुज्रिरहेको हुँदा व्यवस्थपनमा प्रदेश सरकार चुकेको अध्यक्ष जैसवालको आरोप छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको पर्सा जिल्लाका ग्रामिण क्षेत्रमा पनि लक्ष्णसहितको संक्रमण देखिने क्रम बढ्दै जाँदा नागरिक निदाउन नसकेको अवस्थामा प्रदेश सरकार र मुख्यमन्त्री लालबाबु राउत निदाएर बसेको जैसवालको भनाई छ ।

केन्द्रिय सरकार कुर्सी जोगाउन केन्द्रित भएको र प्रदेश सरकार निदाएर बस्दा पहुँच नभएका बिरामीहरु अस्पतालमा भर्ना हुन नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको जैसवालको बुझाई छ । आफ्नै पार्टीका मुख्यमन्त्री र आफ्नै पार्टीको प्रदेश सरकार भएर पनि महमारीको समयमा सक्रियता देखाउनुपर्नेमा अपेक्षित काम गर्न नसकेको धारणा राखे ।

यात्रा डेलीसँगको संवादमा अध्यक्ष जैसवालले भने, ‘प्रदेश सरकारले उपयोगबिहिन तथा अनावश्यक क्षेत्रमा स्रोत साधन सहयोग गरीरहेको छ, आवश्यक हुनेहरुलाई केही गर्न सकेको छैन ।’ उनले थपे, ‘पर्सा जिल्लाकै मध्य भागमा अवस्थित महुवनमा आफ्नै स्रोतसाधनबाट १० बेडको आइसोलेसन तयार गरेका छौँ र केही दिनभित्रै १५ बेडको आइसोलेसन तयारी गर्दैछौँ ।’ ’

प्रयोग नहुने ठाउँमा चालक बिनाको शब वाहन, ५ वटा एम्बुलेन्स, भेन्टिलेटर लगायतका सामाग्री सहयोग गरेको र अग्रपङ्क्तिमा रहेर काम गरीरहेका हामीलाई कुनै सहयोग भएन’ उनले गुनासो गरे । महुवनमा निर्मित आइसोलेसन सखुवाप्रसौनी मात्रै नभएर अन्य स्थानीय तहलाई पनि पायक पर्ने सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राजेश रौनियारले बताए ।

विगतमा कुदृष्टिका कारण पारसनाथ क्षेत्रलाई पछाडी पार्ने षड्यन्त्र भएजस्तै अहिलेको प्रदेश सकारले पनि निरन्तरता दिन खोजे कुनै पनि हालतमा स्वीकार्य नहुने अध्यक्ष जैसवालले चुनौती दिए । आफ्नै पार्टीको सरकारको विरुद्धमा आवाज उठाएको भन्दै अध्यक्ष जैसवालको वाहवाही पनि भइरहेको छ । 
 

Back to top