×

रवी दाहाल, वीरगञ्ज, २० बैशाख । 

कोरोना संक्रमणको दोश्रो लहरसँगै जनस्वास्थ्यमा देखा परेको संकट व्यवस्थापनको लागी काठमाण्डौं उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञा कार्यान्वयनसँगै अत्यावश्यक सेवा क्षेत्र अन्तर्गतको बैंक, वित्तीय संस्था, बीमा कम्पनीहरुले सेवालाई निरन्तरता दिइरहेका छन् । कार्यालय समय छोट्याएर भएपनि दैनिक सेवा प्रदान गरिरहेका छन् । 

 संक्रमणको जोखिम उच्च भएको अहिलेको अवस्थामा सेवा प्रदायक संस्थाका कर्मचारी र सेवाग्राही ग्राहक दुबैको लागी प्रत्यक्ष भेटघाटको माध्यमबाट सेवा लिनु दिनु उच्च जोखिमपूर्ण हो । तर दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको आर्थिक कारोबारको लागी बैंकिङ कारोबार नभई नहुने पाटो हो । यो अवस्थामा थोरैभन्दा थोरै भौतिक उपस्थितिको माध्यमबाट बढीभन्दा बढी अप्रत्यक्ष वा अभौतिक माध्यमको प्रयोगबाट सेवा प्रदान गर्नको लागी सेवा प्रदायकको ध्यान केन्द्रित हुँदै गएको छ । 

विशेषगरी बैंक, वित्तीय संस्थाहरुले सूचना प्रविधिको भरपुर प्रयोग गर्दै आम नागरिकलाई समेत सूचना प्रविधिकै माध्यमबाट सेवाबारे सोधपुछ गर्न, खाता खोल्न, रकम जम्मा गर्न वा झिक्न, भुक्तानी गर्न, किनमेल गर्न प्रेरित गरिरहेका छन् । काठमाण्डौं जस्तो ठूला शहरहरुमा अनलाइन कारोबारलाई प्रोत्साहन गर्नको लागी बैंकहरुले ग्राहकलाई किनमेलको क्रममा निश्चित प्रतिशतसम्म छुट समेत उपलब्ध गराई रहेका छन् ।

सन् २०१९ को अन्त्यबाट शुरु भएको कोभिड १९ को संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि मानव जीवनको लागी ठूलो चुनौती तेस्र्याइदियो । यो रोगको संक्रमणबाट जनधनको अपुर्णिय क्षति हुन पुगेको छ । र यो क्रम अझै सम्म पनि जारी छ । हरेक चुनौतीसँगसँगै अवसरहरु पनि देखा पर्छ भन्ने मान्यता झैं सूचना प्रविधिको माध्यमबाट (खासगरी ग्राहक र सेवा प्रदायकबीच प्रत्यक्ष भौतिक सम्पर्क नहुने) वस्तु तथा सेवा उपलब्ध गराउने व्यवसायले अपत्यारिलो तवरबाट फड्को मारेको छ । समयको माग मात्र नभएर संक्रमण जोखिमको कारण बाध्यात्मक अवस्थाले समेत सूचना प्रविधिको प्रयोगलाई जबरजस्तरुपमा स्थापित गरिदिएको छ । हाम्रो परिप्रेक्ष्यमा खासगरी शहरी क्षेत्रका उपभोक्ता र ठूला उद्योग, व्यवसाय र संगठित क्षेत्रमा सूचना प्रविधिको माध्यमबाट कार्यालय संचालन, ग्राहक सेवा प्रदान गर्ने अभ्यासले धेरै हदसम्म ठाउँ पाएको छ ।

आम नागरिकको दैनिक जीवनमा प्रत्यक्ष रुपमा, जोडिने बैंक तथा वित्तिय संस्थाले चुनौतीलाई अवसरमा बदल्दै सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई विशेष प्राथमिकता दिएका छन् । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम, अनलाइन किनमेललाई बैंकहरुको सशक्त बजारीकरणकै कारण सर्वसाधारणको पहुँचमा सहज भएको छ । नेपाल राष्ट्र बैंकले फागुन २०७७ मा सार्वजनिक गरेको मासिक वित्तिय विवरणका अनुसार आ.व. २०७७⁄७८ को दोश्रो त्रैमासिकको अन्त्यसम्ममा खातावाल ग्राहक (३ करोड ४६ लाख) मध्ये ३९ प्रतिशत ग्राहक (१ करोड ३७ लाख) ले इन्टरनेट र मोबाइल बैंकिङ सेवाको प्रयोग गरेका छन् । आ.व.२०७७ असारको तुलनामा २०७७ पुस मसान्तसम्ममा खातावाल ग्राहक ६.८३ प्रतिशतले वृद्धि हुँदा इन्टरनेट⁄मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब १२ प्रतिशतले वृद्धि भएको छ ।

व्यापक शाखा संजाल, पर्याप्त जनशक्ति, पूँजी र आम्दानीसँगै प्रतिस्पर्धासँगै नियामक निकायको सहयोगी भूमिकाको कारण बैंक तथा वित्तिय संस्थाहरुले सूचना प्रविधिको प्रयोगलाई व्यापकता दिने प्रयास गरिरहेका छन् ।

बीमा सेवामा सूचना प्रविधिको प्रयोग
    
सेवा प्रदायक क्षेत्रमध्ये आम जनजीवनसँग जोडिएको अर्को क्षेत्र बीमा व्यवसाय पनि हो । बीमा व्यवसायमा सूचना प्रविधिको प्रयोग अपेक्षाकृत अझै बिस्तार हुन सकेको छैन । सीमित पूँजी, सीमित जनशक्ति, व्यवसायीक जोखिमको साथै नीतिगत अंकुशको कारण पनि बैंकको तुलनामा बीमा सेवामा सूचना प्रविधिको प्रयोग न्यून छ ।
 

बीमा सेवामा निर्जिवन बीमा कम्पनीले गत वर्ष कोरोना बीमा जारी गर्दा आम नागरिकसम्म सूचना प्रविधिको माध्यमबाटै सेवामा पहुँच सम्भव भयो । यसअघि पनि निर्जीवन बीमा कम्पनीले सूचना प्रविधिको माध्यमबाटै ग्राहकसँग प्रत्यक्ष भौतिक उपस्थिति बिना नै मोटर, अग्नी, सम्पत्ति, नगद सुरक्षालगायतको सेवा प्रदान गर्दै आएका छन् । निर्जीवन बीमामा मध्यस्थकर्ताको उपस्थिति अनिवार्य नभएको हुँदा ग्राहकले उपलब्ध गराएको विवरणको आधारमा परमविश्वासको सिद्धान्तलाई अंगिकार गर्दै निर्जीवन बीमा कम्पनीले नयाँ बीमालेख जारी गर्ने र नविकरण गर्ने सेवा प्रदान गरिरहेका छन् ।
बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले १७ वैशाखमा परिपत्र जारी गर्दै निषेधाज्ञाको अवधिभर सूचना प्रविधिको अधिकतम प्रयोगबाट सेवा प्रदान गर्न निर्देशन दिएको छ । बीमा समितिले अस्थायी अवधिको लागी मात्रै जारी गरेको भएपनि यो निर्देशनले सूचना प्रविधिमा आधारित बीमा व्यवसाय परिकल्पना गरेको छ । विद्युतीय वा सूचना प्रविधिको माध्यमबाट बीमालेख आवेदन, अण्डरराइटिङ, बीमालेख जारी गर्ने, बीमाशुल्क भुक्तानी, बीमालेख नविकरण बीमा समितिले जारी गरेको निर्देशन कार्यान्वयनमा ल्याउन जीवन बीमा कम्पनीसँग आवश्यक आधारभूत पूर्वाधारहरु (सफ्टवेयर, सर्भर, दक्ष जनशक्ति) उपलब्ध छ । जीवन बीमा कम्पनीले अण्डरराइटिङ, नविकरण बीमाशुल्क संकलन, बीमालेखको धितोमा ऋण सुविधा, बीमा अभिकर्ताको कमिशन गणना गर्न एकीकृत सफ्टवेयर प्रयोगमा ल्याएका छन् । साथै बीमालेख सम्बन्धी जानकारी, बीमा दाबी, दाबी भुक्तानी सम्बन्धमा आफ्नो वेभसाइट वा मोबाइल एप्लिकेशनमार्फत् सीमितरुपमा भएपनि अनलाइन सेवा प्रदान गरिरहेका छन् ।

केही बीमा कम्पनीले रु.३ लाखसम्मको बीमालेखको लागी अनलाइन आवेदन दर्ता गर्न सकिने सुविधा समेत गत वर्षदेखि नै कार्यान्वयनमा ल्याई सकेका छन् । बीमा समितिले हालै जारी गरेको निर्देशनमा अण्डरराइटिङको सिद्धान्त परिपालन गर्न निर्देशन दिइए पनि सूचना प्रविधिको माध्यमबाट प्राप्त आवेदनको आधारमा बीमालेख जारी गर्नको लागी बीमाङ्कको सीमा तोकेको छैन । निषेधाज्ञा अल्पकालीन अवस्थाको लागी मात्र भएपनि बीमा कम्पनीले सबैखाले सेवाको लागी सूचना प्रविधिको प्रयोगलाई अनिवार्य प्रयोगमा ल्याउन सके दीर्घकालीन प्रभाव पार्नेछ । सूचना प्रविधिको प्रयोगले सेवामा सहज पहुँच, छिटो छरितो, लागत कटौती, जनशक्तिको भरपुर प्रयोग र बीमा सेवाको व्यापकतामा अवश्य पनि उल्लेखनीय योगदान  पु-याउनेछ ।

बीमा समितिले जारी गरेको बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६ ले सूचना प्रविधि प्रणालीको प्रयोग अण्डराइटिङ, तथ्यांक भण्डारण सुरक्षणको लागी सूचना प्रविधि प्रणालीको प्रयोगलाई निर्देशित गरेको छ । परिच्छेद २ को दफा ३ मा सूचना प्रविधि प्रणाली उच्च अधिकारी, कर्मचारी तथा आवश्यक्ता अनुसार बीमा मध्यस्थकर्र्तासम्मले प्रयोगमा ल्याउन सक्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । साथै बीमालेख जारी गर्दा, नविकरण गर्दा र दाबी भुक्तानी गर्दा विद्युतीय भुक्तानीको माध्यम प्रयोग गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । आवश्यक्ता अनुसार मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउनुपर्ने उल्लेख भएपनि बीमितलाई सूचना प्रविधिको माध्यमबाट सेवा प्रदानको लागी स्पष्ट निर्देशन छैन ।

सूचना प्रविधि मार्ग दर्शनले सूचना प्रविधिको माध्यमबाटै नयाँ बीमालेखको लागी आवेदन संकलन गर्ने, नविकरणको लागी आवेदन स्वीकार गर्ने, बीमालेख जारी गर्ने, दाबी स्वीकार गर्ने, दाबी भुक्तानी फछ्र्यौट गर्नेबारे स्पष्ट व्यवस्था गरिएको छैन ।  लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले सार्वजनिक गरेको डिजिटल ट्रान्सफर्मेशन एडप्शन इन द इन्स्योरेन्स सेक्टर अफ नेपाल (प्रमोद निरौला र डा. सन्दीप कौतिश) को जर्नलमा नेपालमा बीमाको क्षेत्रमा सूचना प्रविधिको माध्यमबाट सेवा ग्राह्य गर्न सर्वसाधारणहरु सकारात्मक देखिए पनि सूचना प्रविधिको माध्यमबाट बीमा सेवा प्रदान गर्नको लागी नियामकीय व्यवस्थालाई मुख्य बाधकको रुपमा औंल्याइएको छ । अर्थात् सेवाग्राही सूचना प्रविधिको माध्यमबाट सेवा प्राप्त गर्ने अपेक्षालाई पुरा गर्र्न नियामकीय निकायले गाँठो फुकाउनु जरुरी छ ।

सूचना प्रविधिको प्रयोगमा चुनौती

    सूचना प्रविधिको प्रयोगले सहजता ल्याउने भएपनि यसको प्रयोगका पछाडी केही अपरिहार्य चुनौती समेत जोडिएर आउँछन् ।

१) लगानी
सूचना प्रविधिको प्रयोगमा प्रारम्भिक लगानीसँगै तथ्यांकहरुको भण्डारण, सुरक्षण, अध्यावधिक र पूर्वाधारहरुको व्यवस्थापनमा पर्याप्त पूँजीगत लगानी आवश्यक हुन्छ । सर्भर, सफ्टवेयर, दक्ष जनशक्तिको उत्पादनको लागी प्रारम्भिक चरणमा ठूलो लगानी भएपनि दीर्घकालमा यसले बीमकको संचालन लागत कटौती गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ ।

२) दक्ष जनशक्ति

सूचना प्रविधिको प्रयोगको लागी दक्ष जनशक्तिको उपलब्धता पनि चुनौती हो । छोटो समयमै जनशक्ति व्यवस्थापन गर्न संभव नभएपनि रणनीतिकरुपमा जनशक्तिको उत्पादन, क्षमता अभिवृद्धिको माध्यमबाट यो संभव तुल्याउन सकिन्छ ।

३) नियामकीय व्यवस्था
बीमितको घरदैलोसम्म नै सूचना प्रविधिको माध्यमबाटै बीमा सेवा पु¥याउनको लागी निमायकीय निकाय बीमा समितिले आवश्यक सहजीकरण गर्नु जरुरी छ । बीमकको वेभसाइट संचालन सम्बन्धी सामान्य निर्देशनमा सीमित रहेको बीमा समितिले सूचना प्रविधिको प्रयोगलाई महत्व दिंदै बीमकको सूचना प्रविधि सम्बन्धी मार्ग दर्शन २०७६ कार्यान्वयनमा ल्याएर कोशे ढुंगा स्थापना गरेपनि यो अपर्याप्त छ ।

४. तथ्यांक सुरक्षा

 सूचना प्रविधिको प्रयोगले सेवामा पहुँचलाई सहज बनाइ दिने भएपनि यसको तथ्यांक सुरक्षा ज्यादै चुनौतीपूर्ण रहेको छ । बैंकिङ सफ्टवेयरमा ह्याकरको अनधिकृत पहुँचसँगै ठूलो रकम अवैधरुपमा बाहिरिएको, एटिएम बुथमार्फत् ह्याकिङ भएको घटना सार्वजनिक भइसकेको छ । तसर्थ बीमा सेवामा सूचना प्रविधिको व्यापकतासँगै साइबर सुरक्षाको चुनौती पनि जोडिएर आउनेछ । तथ्यांकको सुरक्षामा आधिकारिक सफ्टवेयर लाइसेन्सको प्रयोग, वैकल्पिक सर्भर, क्लाउड सर्भरको साथै अनधिकृत व्यक्तिको पहुँचमा नियन्त्रण गर्नको लागी आवश्यक पूर्वाधारमा लगानी गर्न कन्जुस्याइँ गरिनुहुँदैन ।


जीवन बीमा कम्पनीहरुमा सूचना प्रविधि प्रयोगको अवस्था
१) एकीकृत सफ्टवेयरः
    
    बीमालेखको अण्डरराइटिङ गर्न, बीमालेख जारी गर्न, बीमित र अभिकर्ताबारे तथ्यांक भण्डारण गर्न, बीमालेख नविकरण गर्न अधिकांश बीमकले एकीकृत सफ्टवेयरको प्रयोग ।

२) मोबाइल एप्लिकेशन

    क) बीमितको लागी

  •     बीमा योजनाबारे जानकारी
  •    बीमाशुल्क गणना
  •    बीमालेखको नाम, बीमा अवधि, बीमाशुल्क तिर्ने मिति,
  •    भुक्तानी गरिएको कूल बीमाशुल्क

    ख) अभिकर्ताको लागी

  •  व्यवसायीक तथ्यांक
  • व्यक्तिगत विवरण
  • अभिकर्ता संजाल
  • बीमाशुल्क गणना
  • बीमा योजनाबारे जानकारी

३) बीमाशुल्क भुक्तानीको सुविधा

  •     मोबाइल बैंकिङ
  •    कनेक्ट आइपिएस
  •    ईसेवा,फोन पे एप्स
  •    बैंक खातामा ट्रान्सफर

४) बीमा दाबी सुविधा(आंशिक र पूर्णावधि दाबी)

    केही बीमकको वेभसाइटमार्फत् नै बीमितले आवेदन दर्ता गर्न सक्ने सुविधा उपलब्ध छ ।

५) बीमा दाबी भुक्तानी 

  •   नेपाल क्लियरिङ हाउसको मध्यस्थतामा बीमकले बीमा दाबीवापतको रकम सिधै बीमितको खातामै भुक्तानी गरिदिने व्यवस्था कार्यान्वयनमा ल्याउँदैछन् ।
Back to top