×

एजेन्सी | अक्सिजन अभाव हुँदा भारतको कर्नाटनस्थित एक अस्पतालभित्र १२ जनाको मृत्यु भएको छ।

कोरोना महामारीको दोस्रो लहरमा लपेटिएको भारतमा यतिखेर अक्सिजन अभाव व्याप्त छ र सास फेर्न नसक्दा अस्पतालभित्र एकैसाथ दर्जनौं संक्रमितको ज्यान गइरहेको छ।

अक्सिजन नपाउँदा चामाराजानगर जिल्लाको इन्स्टिच्यूट अफ मेडिकल साइन्समा उपचाररत १२ जना संक्रमितको मृत्यु भएको खबर भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका हुन्।

कोरोना भाइरस संक्रमण भएपछि फोक्सोमा असर पर्छ र सास फेर्न गाह्रो हुन्छ। सो अस्पतालमा भर्ना भएका संक्रमितहरूले पनि यही समस्या भोगेका थिए। उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर भइसकेको थियो। 

गएराति १२ बजेदेखि २ बजेसम्म अक्सिजन प्रेसर निकै कम भएको चिकित्सकहरूले बताएका छन्। त्यहाँ रहेका १२२ जना बिरामीमध्ये १२ जना कोरोना संक्रमितहरू अन्य रोगबाट समेत ग्रसित थिए।

अक्सिजनको प्रेसर बढाउन खोज्दा पनि नसकिएको आज बिहानसम्म १२ जनाको ज्यान गएको अस्पताल प्रशासनले जनाएको छ। ज्यान गुमाएका सबै संक्रमित भेन्टिलेटरमा थिए। 

अस्पतालमा अक्सिजन सपोर्ट नदिइएका अन्य ११ जना बिरामीको पनि आज मृत्यु भएको छ। उनीहरूको मृत्युको कारण अझै खुलाइएको छैन।

Back to top