×

वीरगञ्ज, १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् ।

पोखरेलको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जानकारी दिए ।

विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । 

यसैविच नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ ।

दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको प्रदेश सभा सदस्य विष्णु पन्थीले बताए ।

‘दलको बैठक बसेर नयाँ सरकार फेरि शंकर पोखरेलकै नेतृत्वमा बनाउने निर्णय गरेको छ’, उनले भने । पोखरेलले आजै दिएको राजीनामा स्वीकृत भइसकेको छ ।

८१ सदस्यीय प्रदेशसभामा एमालेसँग ४१ सांसद छन् । एमाले बाहेक विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव माथि आजबाट छलफल गर्ने कार्यसूची तय भएको थियो ।

तर, त्यसअघि नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिए । यो प्रदेशमा नेकपा माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टी (जसपा) ले चार सांसद निस्कासित गरेको फाइदा मुख्यमन्त्री पोखरेलले उठाएका छन् । आज बसेको दलको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पनि सहभागी थिए ।

 

Back to top