×

भारत । दाहसंस्कार गरिने ठाउँहरूमा शवको खचाखच देख्दा लाग्छ, यहाँ विशाल युद्ध चल्दैछ। धेरै लडाकू मारिएका छन्। धेरै ठाउँमा एकैपटक दर्जनौं शव जलाइन्छ।
यो भारतको राजधानी नयाँदिल्ली हो। सामूहिक दाहसंस्कार गरिने व्यस्त ठाउँहरूमा आगोको ज्वालाले जतिखेरै आकाश उज्यालो बनाएको देखिन्छ। लाग्छ, यहाँ चिताबाट धुँवा पुत्ताउन कहिल्यै रोकिन्न।

म न्यूयोर्क टाइम्सको दक्षिण एसिया ब्युरो प्रमुख हुँ, नयाँदिल्लीमा बस्छु। 

मेरो छिमेकमा दर्जनौं मान्छे बिरामी छन्। मेरा एक जना सहकर्मी सिकिस्त छन्। मेरो छोराका शिक्षकहरू थलिएका छन्। म बस्ने घरमै पनि दायाँबायाँ सबै कोरोना संक्रमित छन्।

'मलाई थाहै छैन मलाई कसरी सर्‍यो,' अस्पताल भर्ना भएका मेरा एक नजिकका साथी भन्दै थिए, 'एक सासमै यो...।'

सिकिस्त भएका उनमा आफ्नो वाक्य पूरा गर्ने तागत थिएन। उनले अस्पतालमा मुश्किलले बेड पाए। उनलाई चाहिने औषधि भारतमै कहीँ नभेटिएको डाक्टरहरूले बताएका छन्।

म मेरो अपार्टमेन्टमै बसेको छु, कहिले कोरोनाले भेट्ला भनेर कुर्दै। 

संसारमै कोभिडले नराम्ररी च्यापेको सहर नयाँदिल्लीका अधिकांश मान्छेलाई अहिले यस्तै लाग्दो हो- कोरोना यहीँ आसपास छ, म उसको छेउमै छु। बस् केही समयको कुरा हो, मलाई पनि यसले गाँज्नेछ। 

भारतमा दैनिक तीन लाख पचास हजारभन्दा बढी संक्रमित भइरहेका छन्। कोरोना महामारी सुरू भएयता यो संसारकै सबभन्दा ठूलो संख्या हो। अझ यो त सरकारी तथ्यांक मात्र हो, विज्ञहरूले योभन्दा धेरै मान्छे संक्रमित भएको अनुमान गरेका छन्।

दुई करोड जनसंख्या भएको घन्चमन्च राजधानी नयाँदिल्लीमा कोरोना अत्यास लाग्ने गरी फैलिएको छ। केही दिनअघिको तथ्यांक हेर्ने हो भने कोरोना पोजेटिभ हुने संख्या ३६ प्रतिशत थियो। यो भनेको तीन जनामा एक जनाभन्दा बढी संक्रमित हुनु हो। एक महिनाअघि यो संख्या तीन प्रतिशत थियो।

यहाँ संक्रमण आँधीझैं फैलियो। अस्पतालहरू निमेषभरमै खचाखच भए। औषधि सकिन थाले। जीवन बचाउने अक्सिजन अभाव भयो। धेरै बिरामी अस्पतालका गेट वा घरमै बेड र उपचार कुर्ने लाइनमा बसे। उनीहरू सिलिन्डरमा भरिएको अक्सिजन नपाएर छट्पटाइरहेका थिए।

नयाँदिल्लीमा अहिले लकडाउन भए पनि कोरोना थान्को लागेर बसेको छैन। डाक्टरहरू र ठूला नेताहरूले अक्सिजन, औषधि र सहयोगको याचना गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बारम्बार फोन गरिसके। तर अवस्था झन् भयावह हुँदैछ। जेफ्री जिटेलम्यान (द न्यूयोर्क टाइम्स)

Back to top