×

वीरगञ्ज, १५ बैशाख ।  ज्यान भन्दा ठूलो केही छैन । ज्यान बाँचे सबै बाँच्छ । आफु, आफ्नो परिवारको, श्रमिकको र कर्मचारीहरुको सुरक्षा गर्नु हाम्रो दायित्व हो । विगतका दिनहरुमा पनि हामी आफ्नो दायित्वबाट पञ्छिएका थिएनौ, अहिले पनि पञ्छिएका छैनौ र भोली पनि पञ्छिने छैनौ ।

देश मात्रै हैन पूरा विश्व नै त्रासदीपुर्ण अवस्थाबाट गुज्रिरहेको सबैलाई अवगत नै छ । यो संकटपुर्ण घडीमा विकास निर्माण, शिक्षा, रोजगार लगायतका हरेक क्षेत्र नराम्रोसँग प्रभावित भएका छन् । यसबाट उद्योग तथा व्यावसाय झन कसरी अछुतो हुन सक्थ्यो र ? झण्डै ८ महिनासम्म नराम्ररी थिलथिलो परेको व्यापार व्यावसाय पुनः पूर्ववत अवस्थामा फर्किनै लाग्दा नयाँ भेरियन्टसहितको कोरोना भाइरस पर्खाल बनेर उभिएको छ । उक्त पर्खाललाई तोडेर अगाडी बढ्नका लागि विभिन्न रणनितिहरु अपनाउन थालिएको छ ।

दोस्रो लहरको कोरोना भाइरसको चपेटामा परेको पर्सामा पनि निषेधाज्ञाको रणनिति अपनाइएको छ । बिहिवारदेखि जारी हुने निषेधाज्ञाको प्रभावकारी कार्यन्वयनले कोभिड १९ नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण भुमिका खेल्ने विश्वास गर्न सकिन्छ ।

निषेधाज्ञा पालनाको विकल्प छैन

संक्रमितहरुको संख्या दिनानुदिन उकालो लाग्ने क्रम छ, ओरालो झर्ने छाँटकाँट देखिदैन । भयावह अवस्थाबाट सामान्य अवस्थामा परिणत गर्नका लागि विश्व स्वास्थ्य संगठन, नेपाल सरका, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्थानीय प्रशासन, स्थानीर सरकार, जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, नेपाल प्रहरीले लगायतलाई सहयोग गर्न सबै एकबद्ध हुनुको बिकल्प छैन । हामीले स्थानीय प्रशासनलाई गर्ने सहयोग हाम्रै लागि हो भन्ने भान हुन जरुरी छ । अरु त केही गर्न नसकेपनि स्वास्थ्य मापदण्डको पालना गर्न र निषेधाज्ञालाई कार्यन्वयन गर्न अब सिकाई रहनु नपर्ला ।

उद्योग कलकारखानाहरु बन्द नहुने 

निषेधाज्ञा हुने बित्तिकै अब उद्योग, कलकारखाना बन्द हुने भए, व्यापार व्यावसाय ठप्प हुने भए भनेर आत्तिनुपर्ने अवस्था भएपनि संयम भएर सचेतना अपनाउनु अहिलेको आवश्यक्ता हो । सरकारले उद्योग तथा व्यवसायविपरित कुनै पनि काम गर्दैन । कोरोना संक्रमणको चेनलाई ब्रेक गर्ने मुख्य उद्देश्यले निषेधाज्ञा जारी गरिएको हो । उद्योग कलकारखानाहरु स्वास्थ्य मापदण्डको पालना गरेर सुचारु हुन्छन् । श्रमिकको निगरानीमा नितान्त ध्यान दिन आवश्यक छ । अनि कर्मचारीलाई परिचय पत्रको आधारमा स्वास्थ्य मापदण्डको पालना गरेर आवतजावत गर्ने व्यवस्था मिलाईने छ ।

सरकारलाई सहयोग गर्नु हाम्रो दायित्व 

निषेधाज्ञाको विरुद्धमा कोही पनि उद्योगी व्यवसायीहरु हुनु हुँदैन, बरु यसको पालना गरेर सरकारलाई सहयोग गर्नु हामी सबैको दायित्व हो । र हामीलाई आफ्नो दायित्वबोध हुनै पर्छ । देशकै आपुर्तीको लगभग ४० देखी ६० प्रतिशत वीरगञ्जबाट हुने भएका कारण कार्गाेहरु रोकिदैनन् । उद्योग, भन्सार, आईसीपी, ड्राइपोर्ट सबै स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन हुन्छन् । उत्पादनमा केही कटौती गर्नुपर्ने अवस्था आएपनि अवरुद्ध गर्नुपर्ने अवस्था भने आउने छैन । देशको आपुर्तीको चेन सञ्चालनका लागि महत्वपुर्ण टेवा पुर्याउँदै आएको वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरु बन्द हुँदा देशमा आवश्यक सामाग्रीहरुको अस्वभाविक अभाव सृजना नहोला भन्न सकिन्न । 

वीरगञ्ज उद्योग वाण्ज्य संघका अध्यक्ष सुबोध कुमार गुप्तासँग यात्रा डेलीका सूर्यनारायण वि.क.ले गरेको कुराकानीमा आधारित

Back to top