×

वीरगञ्ज, १५ बैशाख । कोरोनाभाइरसबाट सङ्क्रमित भएर होम आइसोलेशनमा बसिरहेकाहरुलाई वीरगञ्ज महानगरपालिकाले घरमै पुगेर औषधी वितरण गर्ने भएको छ ।

होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई हुने सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरले उनीहरुको घरमै पुगेर नि:शुल्क औषधी वितरण गर्न थालेको हो ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले सङ्क्रमितलाई औषधीसँगसँगै अक्सिजनलगायतका उपचारमा आवश्यक पर्ने अन्य सामग्री पनि महानगरपालिकाले नि:शुल्क रुपमा उपलब्ध गराउने बताए । 

उनले सङ्क्रमण तिब्र गतीमा फैलिरहेकोले सबैलाई आ-आफ्नो घरभित्र रहेर आवश्यक परेको औषधी र अन्य सामग्री चाहिएको खण्डमा महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखालाई समपर्क गर्न आग्रह गरे । 

नि:शुल्क औषधी चाहिएमा नगरप्रमुख सरावगीले महानगरपालिकाका स्वास्थ्यकर्मी जहिर आलमलाई ९८६०१३४५२३ मा सम्पर्क गर्न जानकरी दिए ।

पर्सा जिल्लामा प्रवेश गरेको कोरोनाको दोस्रो लहरले सङ्क्रमितहरुको सङ्ख्या ह्वातै बढाएको छ । सङ्क्रमितहरुमध्ये केहीको अवस्था गम्भीर छन् भने लक्षण नभएका सङ्क्रमित होम आइसोलेशनमा बसिरहेका छन् ।

Back to top