वीरगञ्ज, १५ बैशाख । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको पर्सामा एम्बुलेन्स र शबबाहनको आवश्यक्ता पनि खट्एिको छ ।
दैनिक लगभग १ सय जनाको हाराहारीमा कोरोना संक्रमित थपिनुका साथै दैनिक ३ देखि ४ जनाको मृत्यु हुने गरेको नारायणी अस्पतालले उपलब्ध गराउने तथ्यांकले देखाउँछ । सोही अवस्थालाई मध्यनजर गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवको संसदीय विकास कोष र वीरगञ्ज महानगरपालिकाको सयुँक्त लगानीमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ ।
वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रमका बिच सांसद यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले सयुँक्त रुपमा एम्बुलेन्स सेवाको उद्घाटन गरेका हुन् । एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय सदस्यसमेत रहेका यादवले महामारीको समयमा वीरगञ्जबासीलाई निःशुल्क सेवा मिल्ने विश्वास व्यक्त गरे ।
पहिलो लहरमा एम्बुलेन्स तथा शबबाहनको अभावमा कोरोना संक्रमित तथा संक्रमितका आफन्तले खेप्नुपरेको सास्ती यसपटक खेप्न नपरोस् भन्ने अभिप्रायले एम्बुलेन्स खरिदका लागि सांसद यादवले आफ्नो संसदीय विकास कोषबाट ४६ लाख रुपैया उपलब्ध गराएका थिए ।
कोभिड नियन्त्रणका लागि आफुबाट हुन सक्ने सबै सहयोग गर्न आफु पछि नहट्ने पनि सांसद यादवले प्रतिबद्धता जनाए । विरगंज महानगरपालिकाको मातहतमा रही एम्बुलेन्स सेवा सञ्चालन गरिने महानगरपालिकाका मेयर सरावगीले बताए ।
मेयर सरावगीका अनुसार महानगरपालिकाका कोरोना संक्रमितहरुलाई निःशुल्क सेवा सञ्चालन गरिने छ । साथै होम आइशोलेसनमा रहेका संक्रमितहरुको घरघरमै स्वास्थ्यकर्मीसँगै लिएर आवश्यक औषधी निशुल्क उपलब्ध गराउने तयारी महानगरपालिकाले गरीरहेको पनि सरावगीले बताए ।