×

वीरगञ्ज, १४ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) को आजको खेलमा यस संस्करणका दुई दावेदार टोली, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा गर्दै छन्।

दुबै टोलीले ५ खेलमा ४ जीत र १ हार सहित ८ अंक बटुली सकेका छन् । नेट रनरेटको आधारमा दिल्ली दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ।

यस संस्करणका सर्वाधिक रनकर्ता शिखर धवनलाई अहमदाबादको पिच अझै लाभकारी हुनेछ । चेन्नईको स्लो तथा ड्राई विकेटमा पनि उत्कृष्ट ब्याटिङ गरेका धवन नरेन्द्र मोदी स्टेडियममा अझै विस्फोटक हुने अपेक्षा गरिएको छ । त्यसै गरी स्टिभ स्मिथ र कप्तान ऋषभ पन्त पनि मोतेरामा ब्याटिङ गर्ने पर्खाइमा छन् ।

उता बैंगलोरका ब्याट्सम्यानहरु पनि अहमदाबादमा ब्याटिङ गर्न उत्सुक हुने छन् । विराट कोहली, एबी डेभिलियर्स र ग्लेन म्याक्सवेल जस्ता खतरनाक ब्याट्सम्यानलाई अहमदाबादको ब्याटिङ पिचमा फेस गर्ने कुनै पनि बलरको चाहना हुँदैन ।

बैंगलोर आफ्नो पछिल्लो म्याचको हारलाई बिर्सिंदै नयाँ पन्ना पल्टाउन चाहन्छ भने दिल्लीको आत्मविश्वास पछिल्लो म्याचको सुपर ओभरको जीतले अझै तगडा बनाएको छ ।

यसै बिच व्यक्तिगत कारण देखाउँदै बैंगलोरका अष्ट्रेलियन खेलाडीद्वय एडम जाम्पा र केन रिचार्डसनले आइपीएल छाडी स्वदेश फर्किसकेका छन् भने दिल्लीका भेट्रान स्पिनर रवीचन्द्रन आश्विनले पनि पारिवारिक कारण देखाएर आईपीएल छाडेका छन् ।

दुई आक्रामक टोली आमने सामने हुँदा कसको तराजु भारी हुनेछ भन्ने प्रश्नको जवाफ आज साँझ ७ः४५ बजे खेलिने खेलले आँफै बताउने छ।

Back to top