वीरगञ्ज, १२ बैशाख । वि.स. २०७७ साल कार्तिक २ गते आइतवार पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य बिमलप्रसाद श्रीवास्तवको निवासमा सर्वपक्षीय बैठक बस्यो । उक्त बैठकले वीरगञ्जस्थित नारायणी अस्पतालमा अत्याधुनिक अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गर्यो ।
अत्याधुनिक अक्सिजन प्लान्ट निर्माणका लागि सांसद श्रीवास्तवले आफ्नो संसदीय विकास कोषबाट रु २ करोड सहयोग गर्ने घोषणा गरे । अपुग रकम वीरगञ्ज महानगरपालिकाले दिने नगरप्रमुख विजयकुमार सरावगीले बताएका थिए ।
पर्सा जिल्लास्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, नारायणी अस्पताल विकास समितिका अध्यक्ष, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष, नारायणी अस्पतालका मेसु लगायतको उपस्थितीमा उक्त सहमति भएको थियो ।
सहमति भएको ६ महिना बितिसक्दा पनि अहिलेसम्म अक्सिजन प्लान्ट निर्माण हुन सकेको छैन ।
वीरगञ्जमा दोस्रो लहरको कोराना भाइरसले आक्रान्त बनाइरहेको अवस्थामा अक्सिजनको आवश्यक्ता र माग बढ्दै जाँदा यात्रा डेलीले अक्सिजन प्लान्ट स्थापनाको विषयमा सरोकालवालाहरुसँग बुझ्दै जाँदा टेण्डर सकारेको डिलरले नै अविलम्ब गरेको जानकारी प्राप्त भयो ।
नारायणी अस्पतालका सहायक मेडिकल सुपरिटेण्डेण्ट डा. एनामुल हक भने यो विषयमा अनविज्ञ छन् । सांसद श्रीवास्तवसँग बुझ्न खोज्दा आफुले आफ्नो जिम्मेवारी सबै पूरा गरेर महानगरपालिकालाई सुम्पिएको प्रतिक्रिया दिए ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगीले अक्सिजन प्लान्टका लागि टेण्डर साकार भएर ल्याउने प्रक्रिया अघि बढेको बताए । वीरगञ्ज महानगरपालिकाका इन्जिनियर राकेश साहका अनुसार उक्त टेण्डर वयोद्या मेडिकल टेक्नोलोजी, प्राइवेट लिमिटेड ललितपुरले सकारेको छ ।
सांसद श्रीवास्तवको संसदिय कोषको २ करोडमध्येबाट १ करोड ४७ लाख ९२ हजार रुपैयामा चिनबाट ल्याउनेदखी स्थापना गर्नेसम्मको जिम्मा सकारेको हो । सम्बन्धीत विषयमा दक्ष जनशक्तिको अभावमा टेण्डर आह्वान गर्न ढिलाई भएको इन्जिनियर साहले स्वीकारे ।
बैशाख ६ गते टेण्डर सकारेको कम्पनीले आउँदो असार २० गतेभित्र प्लान्ट स्थापना गर्ने सम्झौता भएको छ । १ मिनेटमा ५ सय लिटर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता भएको अत्याधुनिक अक्सिजन प्लान्टको स्थापनापछि अक्सिजनको अभावका कारण मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने नगरप्रमुख सरावगीले विश्वास व्यक्त गरे ।