वीरगञ्ज, ११ बैशाख । पर्सा जिल्लामा कोभिड १९ बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन उकालो लागिरहेको छ ।
पछिल्लो २४ घण्टामा पर्सामा मात्रै ६४ जना कोभिड संक्रमित थपिएका छन् । पर्सा, बारा लगायतका विभिन्न स्थानबाट संकलित १ सय ४० जनाको थ्रोट स्वाबको नमुना आरटी पिसिआर प्रविधिबाट परिक्षण गर्दा पर्साका ६४, बाराका २३ र रौतहटका ३ जना गरी ९० जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासका अनुसार संक्रमितमध्ये २४ जना महिला रहेका छन् । वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका ५५ जना, बहुदरामाई नगरपालिकाका २ जना, जगरनाथपुर गाउँपालिकामा २ जना, धोबिनि गाउँपालिकामा १ जना, बिन्दवासिनी गाउँपालिकामा १ जना, कालिकामाई गाउँपालिकामा १ जना, पर्साको हरपुरमा १ जना रहेका छन् ।
त्यस्तै बाराको परवानीपुर गाउँपालिकामा ३ जना, महागढीमाई नगरपालिकामा २ जना, कोह्लवी नगरपालिकामा २ जना, कलैया उपमहानगरपालिकामा ५ जना, जितपुर सिमरा उपमहानगरपालिकामा ६ जना, बाराको नौतनमा २ जना, प्रसौनी गाउँपालिकामा १ जना, बाराको बिभासीमा १ जना संक्रमित थपिएका छन् ।
यस्तै रौतहटको चन्द्रपुर नगरपालिकामा २ जना र गढीमाई नगरपालिकाका १ जनामा संक्रमण देखिएको डा. दासले बताए । थपिएका संक्रमितहरु ५ वर्षीय बालकदेखि ७७ वर्षीय बृद्धसमेत रहेका छन् । कोभिड संयोजक डा. दासका अनुसार उनिहरुको सिटि भ्यालु १४ देखि ३५ सम्म रहेको छ ।
पर्सामा यो हप्ता मात्रै ४ सय ६२ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । आइतवार ४९ जना, सोमवार ७० जना, मंगलवार ७६ जना, बुधवार ७९ जना, बिहिवार ५७ जना, शुक्रवार ६७ जना र शनिवार (आज) ६५ जना गरी ४ सय ६२ जना कोरोना संक्रमित थपिएका हुन् ।
त्यसैगरी सोही अवधिमा संक्रमणकै कारण ७ जनाको मृत्यु भएको छ । आइतवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निवासी ५१ वर्षीय महिला, मंगलवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का ५७ वर्षीय पुरुष, बुधवार सर्लाहीका ४२ वर्षीय पुरुष, बिहिवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का ६१ वर्षीय महिला र वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ का ६३ वर्षीय पुरुष, शुक्रवार जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुष र शनिवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ निवासी ५३ वर्षीय पुरुष गरी यो हप्ता मात्रै ७ जनाले ज्यान गुमाएका छन् ।
दिनप्रतिदिन कोभिड संक्रमितहरुको संख्या बढ्दै गर्दा पनि सरोकारवा निकायले भने प्रभावकारी कदम चाल्न सकेका छैनन् । देशकै प्रमुख प्रवेशद्वारमै फितलो व्यवस्थापन हुँदा यहाँबाट अन्य जिल्लाहरुमा पनि संक्रमण सर्न सक्ने प्रबल सम्भावना बढेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न निर्णय तथा निर्देशन जारी गरेपनि निर्णयको कार्यन्वयनमा भने चुकेको पाइन्छ ।