वीरगञ्ज, ११ बैशाख । कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले सर्वदलिय संयन्त्र गठन गरेको छ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले शनिवार विहान आफ्नै निवास परिसरमा सर्वदलिय बैठक आयोजना गरि सरकारले हाल सम्म चालेको कदमहरु बारे जानकारी गराउदै थप सहयोग र सहकार्यका लागि सर्वदलिय संयन्त्र गठन गरेका हुन् ।
सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलिय संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह, जनता समाजवादी पार्टीका सचेतक परमेश्वर साह, प्रदेश सभा सदस्य राम अशिष यादव रहेका छन् ।
त्यसैगरि बैठकले २५ जना भन्दा बढी सहभागी हुने, साँस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिहरुलाई स्थानीय प्रशासनको सहयोगमा कडाईका लागी रोक्ने निर्णय समेत गरेको छ ।