×

वीरगञ्ज, ८ बैशाख । पर्साको ठोरी गाउँपालिकास्थित सिता गुफामा भगवान रामको मुर्ति स्थापना हुनेभएको छ ।

गाउँपालिकाको वडा नम्बर २ स्थित ठुटे खोलासँग टाँसीएको सिता गुफामा भगवान रामको मुर्ति स्थापनाका लागि विधिवत रुपमा शिलन्यास समेत गरिएको छ । गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ (पीएल) ले बुधबार रामनवमीको अवसरमा आयोजित कार्यक्रममा मुर्ति स्थपनाका लागि शिलन्यास गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले गुफा परिसरमा हनुमानको प्रतीक स्वरूप झण्डा पनि स्थापना गरेका थिए ।

उनले ठोरी गाउँपालिकालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन स्थानीय सरकारले काम गरिरहेको बताउँदै टाउन बजारदेखि सीतागुफा जोड्ने झोलुङ्गे पुल निर्माणको प्रक्रिया सुरु भैसकेको जानकारी दिए । 

ठोरीमा रहेका सम्पूर्ण धार्मिक मन्दिर, गुम्बा र चर्चघरको निर्माण र संरक्षणमा गाउँपालिका लागिरहेको बताउँदै अध्यक्ष श्रेष्ठले सीता गुफा परिसर संरक्षण र आकर्षक मन्दिर निर्माणका लागि आगामी बर्ष बजेट बिनियोजन गर्ने घोषणा गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि ठोरी क्षेत्र रहेको उद्घोष गरे लगत्तै ठोरीमा रहेको सीता गुफा परिसर चर्चामा आएको थियो । बुधबार गुफा परिसरमा रामनवमीको अवसर पारेर पुजाअर्चना र भजन किर्तन सहित रामनवमी पर्व मनाईएको आचार्य पण्डित चिरञ्जीवी सापकोटाले जानकारी दिए ।

गाउँपालिकाले सीता गुफा परिसरमा विभिन्न धार्मिक अवसर पारेर विविध कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। पालिकाले सीता गुफा परिसरमा भव्य मुर्ती स्थापना र तटबन्ध गर्नका लागि चालु आर्थिक बर्षमा १० लाख रुपैयाँ बजेट बिनियोजन समेत गरेको छ ।

Back to top