वीरगञ्ज, ८ बैशाख । पर्साको विजयवस्तीबाट बुधबार बिहान लुकिछिपी भारत प्रवेश गर्न लागेका २ युवतीलाई प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई भारत लागिरहेकी एक महिला भने पक्राउ परेकी छन् ।
आफ्नो घर नुवाकोट जिल्लाको तादी गाउँपालिका वडा नम्बर १ बताउँने दुईजना अन्दाजी २५/२६ वर्षकी युवतीलाई प्रहरीले उद्धार गरेको हो । पक्राउ परेकी महिलाको भने ठेगान खुल्न सकेको छैन ।
उद्धार गरिएकी युवतीहरुलाई महिलाले भारतको लद्दाखस्थित काली मन्दिर घुमाउन लागिरहेको प्रहरीलाई बयान दिएकी छन् । अन्दाजी ४२ वर्षीय उक्त महिलालाई प्रहरी चौकी बिजयबस्तीको टोलीले गएराती पक्राउ गरेको थियो ।
टाटा सुमो रिजर्भ गरेर आएका उनीहरुलाई भारत जानका लागि गाडी नपाए पछि महिलाले विजयवस्तीकै एकजना युवासँग सहयोग मागेकी थिइन । महिलाले युवतीहरुलाई मोटरसाइकलमा राखेर ठोरीको सिमावर्ती भारतीय शहर नरकाटियागञ्जसम्म पुर्याईदिन अनुरोध गरेको प्रहरीले जनाएको छ । युवकलाई महिलाको गतिविधि शंकास्पद लागेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी विजयवस्तीमा सामान्य सोधपुछ गर्दा ती युवतीहरुले आफ्नो घरमा समेत जानकारी नदिइकन आएको पत्ता लागेको थियो । उद्धार गरिएका युवती र महिलालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी चौकी विजयवस्तीले जनाएको छ ।
गहुँगोरो वर्णका दुई युवती र अधबैंसे महिलाले हरेक प्रश्नको शंकास्पद जवाफ दिन थालेपछि प्रहरी चौकी विजयवस्तीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेलमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।