वीरगञ्ज, ८ बैशाख । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) ले प्रदेश नम्बर २ को नाम जानकी र केन्द्र जनकपुरधाम राख्न प्रस्ताव अगाडी बढाएको छ ।
एमालेका संसदीय दलका नेता शत्रुधन महतोले प्रदेशसभा सचिवालयमा बुधबार प्रदेशको नाम र केन्द्र तोक्ने प्रस्ताव दर्ता गराएका हुन् ।
राजधानी जनकपुर लगायत पूर्वमा कमला नदी, पश्चिममा मध्य परिक्रमा सडक र उत्तरमा पूर्वपश्चिम राजमार्गलाई तोक्न प्रस्ताव दर्ता गराएको दलका नेता महतोले जानकरी दिए ।
पार्टीमा सर्वसम्मतले गरिएको निर्णय अनुसार प्रस्ताव दर्ता गराइएको उनको भनाई छ ।
यसअघि पनि पहिलो पटक भएको प्रदेशको राजधानी र नाममको पस्तावमा नेकपाले राजधानी जनकपुर र नाम जानकी दर्ता गराएको थियो ।
सतत्तारूढ जसपा र नेकपा माओवादी केन्द्रले भने यसअघिनै प्रदेशको नाम मधेस र राजधानी जनकपुरधामलाई तोक्न अलग–अलग प्रस्ताव दर्ता गराइसकेका छन् ।
प्रदेशसभा गठन भएको साढे तीन वर्ष वितिसक्दा पनि राजधानी र नाम पनि टुंगो लगाउन नसकेको भन्दै सरकारको व्यापक आलोचना भएको थियो । आलोचना खेप्न नसकेपछि प्रदेशसभा सचिवालयले वैशाख ९ दिउँसो ३ बजेसम्मको समय दिँदै वैशाख २ मा प्रस्ताव दर्ताको आह्वान गरेको थियो ।
प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाई बहुमत चाहिने कानूनी व्यवस्था छ । तर, राजधानीबाहेक प्रदेशको कुनै नामको प्रस्तावमा दुईतिहाई बहुमत पुग्ने अवस्था देखिएको छैन । सहमति जुट्न नसके फेरि पनि सबै प्रस्ताव फेल हुने सम्भावना देखिएको छ ।
प्रदेशसभामा कूल १०७ सांसद छन् । जसमध्ये आफ्ना चार सांसदलाई माओवादी केन्द्रले पदमुक्त गरिसकेका छन् । अहिले सत्तारूढ जसपाका ५५, माओवादी केन्द्रका ७, एमालेका २१, कांग्रेसका १९ र नेपाल समाजवादी पार्टीका एक सांसद छन् ।
प्रस्ताव पारित गराउन १०३ सांसदको दुईतिहाई ६९ सांसद चाहिन्छ । सत्तारूढ जसपा र माओवादी केन्द्रका सांसद जोड्दा ६२ पुग्छ । मधेस प्रदेश पारित गर्न अझै ७ सांसद आवश्यक पर्छ ।