वीरगञ्ज, ६ बैशाख । वैश्विक महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिममा बालबालिका र बृद्ध, बृद्धाहरु पर्ने विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ । यसका साथै सुत्केरी तथा गर्भवती महिलाहरु पनि उत्तिकै जोखिममा रहेको विश्व स्वास्थ्य संगठनको भनाई छ ।
विशेष गरी रोगप्रतिरोधात्मक क्षमता कमजोर हुनेहरुलाई कोरोना भाइरसको संक्रमण छिटै हुने चिकित्सक बताउँछन् । गर्भवति तथा सुत्केरी महिलाहरुमा कोभिड १९ सर्न सक्ने सम्भावना, सुरक्षित रहनका निम्ती अपनाउनुपर्ने सावधानी लगायतका विषयमा यात्रा डेलीका सूर्यनारायण वि.क.ले स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिप्ती यादवसँग गरेको कुराकानीको सम्पादित अंश ।
कोरोना भाइरसको महामारी गर्भवति तथा सुत्केरी महिलाहरुमा सर्न सक्ने सम्भावना कस्तो हुन्छ ?
अहिलेको विषमपूर्ण अवस्थामा बालबालिका, बृद्ध बृद्धा सँगै सुत्केरी तथा गर्भवति महिलाहरु पनि उत्तिकै जोखिममा छन् । खासगरी कुनै व्यक्ति, समूहभन्दा, जात भन्दा पनि कोरोना भाइरसको संक्रमण रोगप्रतिरोधात्मक क्षमतामा भर पर्छ । बालबालिका र बृद्धबृद्धा जस्तै गर्भवति तथा सुत्केरी महिलाहरुको पनि अन्य समयमा भन्दा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले यो समयमा संक्रमण सर्न सक्ने सम्भावना उच्च हुन्छ ।
गर्भवती अवस्थामा महिलाको शारिरीक र प्रतिरक्षा प्रणालीमा परिर्वतन आउने भएकोले श्वासप्रश्वास प्रणालीमा नराम्ररी असर पर्न सक्छ । कोभिड–१९ को सामान्य लक्षणहरु जस्तै ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्यकर्मीको परामर्श लिनुपर्दछ ।
संक्रमण सर्न सक्ने सम्भावना प्रबल हुन्छ भनेर यहाँले भनिरहँदा खासै पूर्वतयारी नगरिएको र स्रोत साधनको अभाव खेपिरहेको देशका सुत्केरी तथा गर्भवति महिलाहरुलाई सावधानी अपनाउन के कस्ता चुनौतीहरु हुन सक्छन् ?
एकदम सही प्रश्न गर्नुभयो, ठूला–ठूला शक्तिशाली राष्ट्रहरुको समेत घुँडा टेकाईदिएको अवस्थामा हाम्रो जस्तो विकासोन्मुख राष्ट्रका लागि चुनौतीको विषय बन्नु स्वभाविक नै हो । अँझ पर्याप्त मात्रामा स्वास्थ्य संस्था, दक्ष चिकित्सक, स्वास्थ्य सामाग्री, स्वास्थ्य उपकरण, भौतिक पूर्वाधार लगायतको अभावका बिचमा पनि सरकारले गरिरहेको प्रयास एकातिर सकारात्मक नै छ । अँझ हामी खुल्ला सीमाना तथा देशकै प्रमुख प्रवेशद्वार भएको क्षेत्रका नागरिकलाई झनै चुनौती छ । किन त भन्दा भारतमा व्यापक रुपमा संक्रमण फैलिरहेको अवस्थामा र सिमानाका भएर सहजै आवतजावत गर्ने वातावरण भएकाले संक्रमणको जोखिम प्रबल हुन्छ ।
तपाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ भएको नाताले खासमा मैले सोध्न खोजेको र सबै महिलाहरुले जान्न खोजेको विषय के हुन सक्छ भने महिलाहरुमा हुने महिनावारीको समयमा कोभिड १९ को भाइरसले छिटो आक्रमण गर्न सक्ने अवस्था रहन्छ कि रहँदैन ?
ठ्याक्कै तपाईले भनेजस्तै महिनाबारीकै कारण सर्ने भन्ने त हुँदैन तर सत्यता के हो भने त्यो बेलामा अलि बढी सजगता भने अपनाउनुपर्छ । फेरी अन्य बेला चाँही सजग नहुने भन्न खोजेको पनि हैन । महिनावारी महिलाहरुमा हुने नियमित अनि सामान्य प्रक्रिया हो । यस्तो बेलामा बग्ने रगतबाट ब्याक्टेरियाहरु आउन सक्ने सम्भावना प्रबल हुने भएकाले त्यसले रोगप्रतिरोधात्मक क्षमतालाई कमजोर बनाएर कोभिड १९ मात्रै नभएर अन्य रोगहरुले पनि आक्रमण गर्न सक्ने अवस्था भने आउन सक्छ । तसर्थ सरसफाई र खानपानमा विशेष ध्यान दिँदा सुरक्षित रहन सकिन्छ ।
कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि गर्भवति र सुत्केरी भएको अवस्थामा के कस्तासावधानीका उपायहरु अपनाउनुपर्ला ?
राज्यबाट स्वास्थ्य सेवा प्राप्त गर्नु हरेक नागरिकको नैसर्गिक अधिकार हो । त्यसमा पनि गर्भवति तथा प्रसुति महिलाहरुलाई अँभै प्राथमिकतामा राखिएको छ । कोभिड—१९ बाट संक्रमित वा शंकास्पद सबै गर्भवति महिलाले गर्भावस्था, प्रसुति अवस्था र शिशु जन्मे पछिको अवस्थामा गुणस्तरिय सेवा पाउनुपर्छ ।
सुरक्षित र महिलामैत्री प्रसुति सेवाको लागि निम्न कुरा आवश्यक छन् :
- सम्मानजनक व्यवहार ।
-प्रसुतिकर्मीद्धारा सहि जानकारी ।
-कम पीडारहित प्रसुतिको ब्यवस्था ।
-प्रसुतिको बेला महिलाले ईच्छाएको ब्यक्तिको उपस्थिति ।
-कोभिड—१९ को संक्रमित वा शकांस्पद महिलालाई सेवा दिने स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाको उचित उपाय सहितको सावधानी लिनुपर्दछ ।
के कस्ता उपायहरु अपनाए भने गर्भवती महिलाले कोभिड—१९ बाट सुरक्षित रहन सक्छन् ?
यो विषयमा पनि धेरैलाई अन्यौल छ । अब तपाईको प्रश्नमार्फत त्यो अन्यौल हट्ने छ सायद । अन्य सामान्य मानिसहरुले लिने सावधानीका उपायहरु जस्तै गर्भवती महिलाले पनि कोभिड—१९ बाट सुरक्षित रहन निम्न उपाय अपनाउनुपर्दछ ।
- साबुन पानीले बेलाबेलामा हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।
- आफु र अरु व्यक्तिबीच कम्तीमा ३ फिट टाढाको दुरी कायम गर्ने ।
- मुख, नाक र आँखा अनावश्यक रुपमा हातले नछुने ।
- खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखलाई कुहिनाले छोप्ने वा नरम टिस्यु पेपर प्रयोग गरी बिर्को भएको फोहोर फ्याँक्ने भाँडोमा फाल्ने ।
- यदि ज्वरो, खोकी वा सास फेर्न गाह्रो भएमा तुरुन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहोस् । गर्भवति तथा सुत्केरी महिला कोभिड—१९ बाट प्रभावित भएता पनि नियमित स्वास्थ्य जाँच गराउनुपर्दछ ।
कोभिड—१९ बाट संक्रमित आमाले आफ्नो शिशुलाई स्तनपान गराउन सक्छिन् ?
एकदम उपयोगी प्रश्नको लागि धन्यवाद हजुरलाई । यदि आमाले चाहेमा आफ्नो शिशुलाई स्तनपान गराउन सक्छिन । तर त्यसका लागि केही उपायहरु अपनाउनुपर्छ ।
जसमध्ये :
- स्तनपान गराउने बेलामा नाक, मुख राम्ररी छोप्न माक्स लगाउनु पर्दछ ।
- बच्चालाई छुनु अघि र छोए पछि साबुन पानीले हात धुने ।
- सकेसम्म आफ्नो दूध निचोरेर सफा बोतलमा राखेर बच्चालाई खुवाउने।
- आफु बसेको ठाँउ र त्यसको वरिपरिका साथै प्रयोग गरेको सरसामानहरुको सरसफाई गरि निसंक्रमण गर्ने ।
अब अन्त्यमा आम नागरिकलाई विशेष गरी गर्भवति तथा सुत्केरी महिलाहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
अहिले कोरोना भाइरसको महामारीले हरेक क्षेत्र प्रभावित भएको सबैलाई अवगत नै छ । यस्तो संकटपूर्ण घडिमा अरु कुरा भन्दा पनि स्वास्थ्य नै धन हो भन्ने कथनलाई ध्यानमा राखी आफु र आफ्नो परिवारलाई सुरक्षित राख्नतर्फ सबैले ध्यान दिन आवश्यक छ । विश्व स्वास्थ्य संगठनले भनेअनुरुप स्वास्थ्य मापदण्डको पालना गरौँ । पोषिलो खानेकुरा खाऔँ, सरफाईमा विशेष ध्यान दिएर रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सकियो भने कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सकिन्छ ।
परिक्षण गराउने बिरामीहरुको भिड हुँदा पनि यात्रा डेलीलाई दिनुभएको समय र महत्वपूर्ण संवादका लागि हार्दिक आभार ।
अहिलेको समयमा समयसान्दर्भिक विषयवस्तुको बारेमा आम नागरिकलाई सचेत बनाउनका निम्ती र आफूले जानेका र सिकेका कुराहरु अरुलाई बताउने माध्यम बनदिएकोमा हजुरसँगै यात्रा डेली परिवारप्रति धेरै धेरै धन्यवाद ।
धन्यवाद ।।