वीरगञ्ज, ६ बैशाख । प्रदेश नम्बर २ मा कृषि क्षेत्रमा प्रचुर सम्भावना भएपनि प्रविधि र लगानीको अभाव कायमै रहेको प्रदेश नम्बर २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बताएका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीमा कृषि उपज भण्डारण केन्द्रको शिलान्यास गर्दै मन्त्री साहले प्रदेश नम्बर २ लाई कृषि प्रधान प्रदेशको रुपमा विकास गर्नुपर्ने बताए । प्रदेश २ मा फलेको अन्नले सिंगो देशलाई धान्ने तर्क गर्दै मन्त्री साहले कृषिलाई आधुनिकीकरण तथा यान्त्रीकीकरण बनाउनुपर्नेमा जोड दिए ।
प्रदेश सरकारले कृषि क्षेत्रको विकासका लागि कृषि उपज भण्डारण केन्द्र, कृषि उपज संकलन केन्द्र, कृषि यन्त्र प्रवद्र्धनका लागि कस्टम हायरिंग, कृषि सडक, सोलार पम्प, कृषि विद्युतिकरण, प्रांगारिक तथ जैविक मल कारखाना, कृषि उद्योग तथा पशुपालन र दुग्ध लगायतका कार्यक्रम अघि सारेको मन्त्री साहले बताए । किसानको उत्पादनलाई भण्डारण गर्ने स्रोत साधनको अभावमा कृषकहरुले समस्या भोग्नुपर्ने अवस्थाको अन्त्यका लागि कृषि उपज भण्डारण केन्द्रको भवन शिलान्यास गरिएको साहको भनाई छ ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको साझेदारीमा आर्थीक वर्ष २०७७÷७८ मसान्त भित्र निर्माण सम्पन्न गर्ने गरी भवन निर्माणको थालनी गरिएको हो । जम्मा ४९ लाख ९५ हजार ७ सय ५१ रुपैया ४३ पैँसाको ५० प्रतिशत २४ लाख ९७ हजार ८ सय ९० रुपैया ७२ पैसाको लागतमा सम्बन्धीत सहकारी संस्थाले साझेदारीमा निर्माण गर्ने छन् ।
शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य प्रहलाद गिरि, करिमा बेगम, राजेश्वर साह, जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष रामनरेश यादव, सचीव तबरेज अहमद, जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साह, कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल रौनियार, साना किसान कृषि सहकारी संस्था लि. उदयपुर घुर्मिका अध्यक्ष हृदयानरायण कुर्मी लगायतको उपस्थिती रहेको थियो ।