वीरगञ्ज, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई बुधबार विभिन्न मानपदवी, अलङ्कार र पदक प्रदान गरेकी छन् ।
उक्त क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार राष्ट्रपति भवन शीतल निवासमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् पर्सावासी पत्रकार केसी लामिछाने र ग्रिनसिटी आर्दशनगर सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्जका अध्यक्ष प्रकाश खेतान पनि पञ्चम विभूषणबाट सम्मानित भएका छन् ।
लामिछानेले पत्रकारिता क्षेत्रमा रहेर समाज सुधार र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि पुर्याएको योगदान र खेतानले ग्रिन सिटि मार्फत वीरगञ्ज महानगर क्षेत्रलाई व्यवस्थित, मर्यादित र अनुसासित बनाउँन गरेको कामलाई मुल्यांकन गर्दै सम्मानित गरिएको हो ।
आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा मानपदवी, अलङ्कार र पदक गत चैत २७ गते वितरण गर्न बाँकी रहेका व्यक्तिहरुलाई आज प्रदान गरिएको थियो ।
त्यसैगरी राष्ट्रपतिबाट पर्साकी पूर्व प्रहरी उपरीक्षक गङ्गा पन्त, पर्साका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत र नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) मदन उपाध्यायपनि सम्मानित भएका छन् । उनीहरुले पर्सा जिल्लामा रहेर कोरोनाभाइरस महामारीको समयमा गरेको कामलाई मुल्यांकन गर्दै सम्मानित गरिएको हो ।
विक्रम सम्बत २०७७ असोज ३ गते राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा उक्त वर्षको विभूषण घोषणा गरिएको थियो ।