×

वीरगञ्ज, १ बैशाख । २०७७ सालको अन्तिम दिन पर्सामा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा मंगलबार गरिएको परिक्षणमा पर्साका २५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो । 

अस्पतालमा पर्सा र बाराका विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ७९ जनाको थ्रोट स्वाबलाई पिसिआर प्रविधिमार्फत परिक्षण गर्दा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये २५ जना पर्सा, बाराका १ र रौतहटका १ जना बासिन्दा रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताए ।

डा. दास अनुसार ८ महिलासहित थपिएका २८ सङ्क्रमितहरुमा ३ वर्षीय शिसुदेखि ५९ वर्षीय वृद्धसमेत रहेका छन् । उनीहरुको सिटि भ्यालु १४.८ देखि ३२.९ सम्म रहेको उनले जानकारी दिए ।

पर्सामा सङ्क्रमण पुष्टि भएकामध्ये १५ जना वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका बासिन्दा छन् । त्यस्तै ९ जना बहुदरमाई नगरपालिका र १ जना छिपहरमाई गाउँपालिकाका बासिन्दा रहेका छन् ।

त्यसतै बारा जिल्लाको कलैया उपमहानगरपालिका र जितपुरसिमरा महानगरपालिकाका एक/एक जना र रौतहटको गढीमाई नगरपालिकाका एकजनामा पनि कोरोना देखिएको डा. दासले जानकारी दिए ।

पछिल्लो एक हफ्तादेखि पर्सा र बारामा कोरोना सङ्क्रमितहरुको सङ्ख्या ह्वातै बढेको छ भने ३ जनाले सङ्क्रमणका कारण आफ्नो ज्यान समेत गुमाई सकेका छन् ।

खुल्ला सिमा र अनियन्त्रित आवातजावतका कारण भारतबाट सङ्क्रमण नेपाल तर्फ फैलिंदै गएको चिकित्सकहरुले बताएका छन् । समयमा सतर्कता नअपनाए स्थिति भयावह हुनसक्ने चिक्तिसकहरुले चिन्तासमेत व्यक्त गरेका छन् ।

चिकित्सक अनुसार अहिले देखिको कोरोना अघिल्लो वर्षभन्दा धेरै घातक रहेको छ ।

Back to top