×

वीरगञ्ज, ३१ चैत्र । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा सार्बजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको छ । 

गाउँपालिका कार्यालयको आयोजना र सहयोगी नेपालको संयोजकत्वमा आयोजित कार्यक्रममा स्थानीयहरुले निर्वाचित जनप्रतिनिधि र कर्मचारीसँग गाउँपालिकाको विकास निर्माण, कामकारवाही र भावी योजनाहरुका बारेमा प्रश्न गरे ।

स्थानीयहरुले गाउँमा भएको विकास निर्माणको क्रममा भ्रष्ट्राचार, अनियमितता र गुणस्तरहिन कामका बारेमासमेत जनप्रतिनिधि र कर्मचारीहरुलाई जानकारी गराए। 

कार्यक्रममा शिक्षा, स्वास्थ्य, सडक, खोला तथा महिलाहरुको रोजगारीलगायत अन्य विषयमा पनि प्रश्नहरु आएका थिए । 

जनताबाट आएका प्रश्नको जनप्रतिनिधि र कर्मचारीहरुले जवाव दिँदै आगामी दिनमा अघिल्लो वर्ष भएका भुल र गल्तिहरुलाई सच्याउँदै विकास निर्माणको कामलाई गुणस्तरीय र गाउँपालिकाको अन्य कामकारवाहीलाई प्रभावकारी र पारदर्शी बनाउँने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष प्रदीप जयसवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सबै वडाका वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारी, स्थानीय बुद्धिजीवि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको सहयोग नेपाल संस्थाका अध्यक्ष तबरेज अहमदले जानकारी दिए ।

Back to top