×

आदरणीय जनसमुदाय ! 

विगत केहि दिनदेखि छिमेकी मुलुक भारतमा कोभिड-१९ सम्बन्धि आएका विभिन्न समाचारहरुबाट हामी पक्कैपनि अवगत छौँ । भारतसँग खुल्ला सिमाना, व्यापार, साँझा संस्कृती भएको हाम्रो मुलुक नेपाल सङ्क्रमणबाट पक्कै पनि अछुतो रहन सक्दैन ।

विशेषगरी देशकै मूख्य नाका र आर्थिक नगर पर्सामा यसको सबैभन्दा बढी प्रभाव पर्ने निश्चित जस्तै छ ।

पर्सामा कोरोना सङ्क्रमण सम्बन्धि पछिल्लो एक साताको तथ्याङ्कले एउटा घन्टी बजाएको छ । तर वास्तविकता त्यो तथ्याङ्क भन्दा निकै विकराल र डरलाग्दो छ ।

झन्डै न्यून कोभिड-१९ का पोजेटिभ केस भएको पर्सा र खासगरी सदरमुकाम वीरगञ्जमा पछिल्लो एकसाता यता औसत ४०% पोजेटिभ केस देखिनु आफैमा ठूलो चुनौती हो । गत हफ्तादेखि पर्सामा थपिएका धेरै सङ्क्रमितहरु कडा लक्षण लिएर मात्र आउने गरेका छन् । जुन समग्र केसहरुको एक चौथाई मात्रै हो, अर्थात अझ तिन चौथाई पोजेटिभ केसहरु निर्धक्क भएर हाम्रो समाजमा घुमिरहेका छन र अन्यमा पनि सङ्क्रमण फैलाईरहेका हुनसक्छन ।

अहिलेको कोरोना फरक छ 

अहिले दोस्रो लहरमा देखिएको कोरोना अघिल्लो वर्ष देखिएको कोरोना भन्दा निकै फरक छ । दोस्रो लहरमा देखिएको कोरोना निमोनियाको क्लिनिकल प्रस्तुति फरक रहेको हामीले पाएका छौँ । रगतका प्यारामिटरहरूमा लिम्फोपेनिया भएका अधिकान्समा थ्रोम्बोसाइटोपेनिया देखिएको छ । अर्थात उनीहरुमा चोटपटक लागेको अवस्थामा रगतको बहाव रोक्ने प्लेटलेटको कमी देखीएको छ । शरीरमा प्लेटलेटको कमीले कयौँ रोगलाई निम्त्याउँन सक्छ । 

त्यसैगरी पहिलाका सङ्क्रमित औसत ७ देखि १० दिनमा नोमोनियाको लक्षण देखिएपनि अहिलेका सङ्क्रमितले ५ दिन भित्रै निमोनियाको लक्षण देखाउँन थालेका छन् ।

अहिले थपिएका सङ्क्रमितमध्ये अधिकान्स युवा र ५० वर्ष मुनिका व्यक्ति रहेकोले पनि चिन्ताको विषय बनेको छ । बालबालिकामा पनि लक्षण देखिनु पनि सोच्ने पर्ने समस्या हुन् जान्छ ।

विगत पाँच दिनमा निमोनिया जस्तो लक्षण देखिएका ५ जनाको २४ घण्टा भित्रै मृत्यु हुनुले सङ्क्रमण फेरी कम्युनिटीमा फैलिसकेको सङ्केत दिन्छ । फरक यती मात्र छ की उनीहरुको कोरोना परिक्षण गरिएको थिएन ।  

चैत्र ३० गते आइतबार सङ्क्रमण पुष्टि भएका ४० जनामध्ये अधिकान्सको सिटि भ्यालु २० भन्दा कम हुनुले पनि नराम्रो सङ्केत दिँदै छ । हामीलाई सतर्क हुनेबेला आएको छ ।

अबको बाटो

हामीले कोभिड-१९ लाई सामान्य रोग मान्दै हेल्चेक्र्याइ गर्नु भुल हुनसक्छ । बजार अथवा काम विशेषले कुनै कार्यालय जाँदा विश्व स्वास्थ्य सङ्गठनद्वरा निर्देशित मास्क लगाउने, साबुन पानीले हात धुने, सेनीटाईजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य सुरक्षा मापदण्डहरु अपनाउँनुको हामीसँग विकल्प छैन । हामीले आफैपनि यसको पालना गर्नुपर्‍यो र अरुलाई पनि गर्न लगाउनुपर्‍यो ।

आफ्नो घरमा रहेका वृद्धवृद्धा र बालबालिकाहरुलाई बिना काम घर बाहिर निस्किन दिनु हाम्रोलाई खतरनाक सावित हुनसक्छ । किनभने उनीहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । कोरोनाभाइरसले उनीहरुलाई युवा वर्षका मान्छेभन्दा छिटो असर गर्न सक्छ । 

त्यस्तै किनमेल अथवा आवश्यक सामग्रीका लागि बजार जाँदा घरको एकजना सदस्यलाई बाहिर पठाउँने र घर फिर्ता आएपछि साबुनपानिले राम्ररी हातधुने अथवा सेनीटाईजर प्रयोग गर्ने बानी हामीले फेरी बसाल्नु पर्छ । सङ्क्रमणको दर कम भएको बेला हामीमध्ये धेरैले यो बानि बिर्सिंदै गएका थियौँ ।

घरको कुनै सदस्य ३ दिनभन्दा बढी समयदेखि ज्वरोले विरामी परेको खण्डमा सम्भव भए उसलाई घर भित्रै छुट्टै कोठामा राख्ने र छुट्टै खानाको व्यवथा गर्नुपर्छ । उक्त सदस्यलाई छिटोभन्दा छिटो नजिकैको स्वास्थ्य संस्थामा गएर चिक्तिसकसँग परामर्स लिनुपर्छ । चिक्तिसकले दिएको सल्लहा अनुसार पिसिआर परिक्षण पनि गर्नुपर्छ ।
 
स्वास्थ्य सुरक्षा मापदण्डहरु मात्र अपनाउँदैमा हामी सुरक्षित हुनेछैनौं । आफ्नो रोग प्रतिरोधक शक्ति बढाउँन तर्फपनि हामीलाई ध्यान पुर्‍याउन जरुरी छ । त्यसकोलागी हामीले पोसिलो खाने कुरा सेवन गर्ने, नियमित व्यायाम गर्ने जस्तो बानी बसालन आवश्यक देखिन्छ ।

स्थानीय प्रशासनले पनि जनसमुदायमा कोभिड-१९ सम्बन्धि जनचेतना फेरी फैलाउँन सुरु गर्ने समय आएको छ ।

सरोकारवालाहरुको जिम्मेवारी 

सरोकारवाला निकायलाई पहिलाको अनुभबहरुबाट पाठ सिक्दै छिटोभन्दा छिटो नयाँ कदमहरु चाल्न आवश्यक देखिन्छ ।

३ सय शय्याको आइसोलेशन स्थापना गर्ने, बाबा होटलमा नेशनल मेडिकल कलेजद्वारा सञ्चालित कोभिड अस्पताललाई पुन: सुचारु गर्ने, पोखरियामा ग्रामिण क्षेत्रका सङ्क्रमितहरुका लागि केन्द्रित एउटा छुट्टै आइसोलेशन स्थापना गर्ने र स्थानीय होटल तथा धर्मशालाहरुलाई आइसोलेशनमा परीमार्जित गर्दै जाने सरोकारवाला निकायको पहिलो कदम हुनुपर्दछ । 

त्यसैगरी पूर्व तयारी अनुरुप नारायणी अस्पतालमा ६० शय्याको भेन्टिलेटर सपोर्ट आवश्यक नपर्ने सङ्क्रमितहरुका लागि एचडीयू (हाई डिपेन्डेन्सी युनिट) र भेन्टिलेटर सपोर्ट आवश्यक पर्ने सङ्क्रमितहरुका लागि कोभिड-१९ आईसीयू तयारी अवस्थामा राख्नुपर्दछ ।

सङ्क्रमितहरुका लागि कम्तिमा पनि २० थान सीपीएपी मेसिन र भेन्टिलेटर व्यवस्था गरेर राख्दा आपतकालीन समयमा ठूलो सहयोग पुग्नेछ । 

अर्कोतर्फ जनशक्तिको उचित व्यवस्थापनमा पनि सरोकारवालाले ध्यान दिन आवश्यक छ । पछिल्लो पटक गरिएका गल्तिबाट पाठ सिक्दै स्वास्थ्यकर्मी र अन्य जनशक्तिलाई जोखिमको मुल्याङ्कन गर्दै सहुलियतको व्यवस्था गर्नुपर्छ ।

त्यसतै कोभिड सङ्क्रमितहरुलाई ओसारपोसार गर्नका निमित्त कम्तिमा पनि ४ थान एम्बुलेन्स एकद्वारा प्रणाली मार्फत सञ्चालन हुनेगरी तयारी अवस्थामा राख्नुपनि महत्वपूर्ण छ । किनभने पछिल्लो समय एम्बुलेन्स नहुँदा कयौँ सङ्क्रमितले समयमा उपचार नपाएर मृत्यु भएको उदाहरण हामीसँग धेरै छ ।

अन्तमा परिक्षणको दायरा फराकिलो पार्न आवश्यक सामग्रीको व्यवस्थापन गर्न तर्फ स्थानीय प्रशासन, सरकार र निकायलाई लाग्नुपर्ने पनि देखिन्छ ।

आफ्नो र आफ्नो परिवारको सुरक्षा आफै गरौँ ।

डा. उदय नारायण सिंहले फेसबुकमा लेखेको पोस्टमा आधारित लेख । डा. सिंह नारायणी अस्पतालका वरिष्ठ चिक्तिसक र नेपाल मेडिकल एसोसिएसन नारायणी शाखाका सचिवपनि हुन् ।

Back to top