×

तस्विर सौजन्य ।

वीरगञ्ज, ३१ चैत्र । पर्साको एकजना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ का ५५ बर्षीय वृद्धको कोरोनाभाइरस सङ्क्रमणका कारण आइतबार मृत्यु भएको हो ।

सोमबार विहान १ बजे भरतपुर अस्पतालमा आएका उनको कोभिड आईसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

वीरगञ्जस्थित नेशनल मेडिकलबाट थप उपचारका लागि भरतपुर रिफर गरिएका वृद्धमा कडा निमोनियाको संक्रमण भएको थियो । उनलाई श्वासप्रश्वासमा पनि समस्या भएको चिकित्सकले बताएका छन् ।

मृत्यु भएका वृद्धको शव सोमबार नै अन्त्येष्टि गरिएको छ । गृह गाउँ पर्साको कालिकामाई गाउँपालिका मै नेपाली सेनाको सहयोगमा उनको शवलाई अन्त्येष्टि गरिएको वडा अध्यक्ष सोनालाल चौरसियाले जानकारी दिए ।

लिभरमा समस्या देखिएपछि उपचारका लागि भारत गएका उनलाई त्यही बेला कोरोना संक्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ । उपचारका लागि उनीसँगै गएका श्रीमती र कान्छो छोरालाई गाउँमै क्वारेन्टिनमा राखिएको चौरसियाले बताए ।

Back to top